धरान(डेस्क): १ नं प्रदेशको विभिन्न जिल्लामा लडेर ४ जनाको मृत्यु भएको छ ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाम, भोजपुर र ताप्लेजुङमा लडेर चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ईलाम नगरपालिका ८ का ५१ बर्षीय टेकबहादुर राईको आज बिहान(राती) ३ बजे लडेर मृत्यु भएको छ । घरदेखि बाहिर सार्वजनिक टहरोमा जादै गर्दा एक्कासी लडेका थिए । उनलाई लडेको अवस्थामा घरको सदस्यले देखेपछी घरभित्र लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ ।
यसैगरी भोजपुरको षडानन्द नगरपालिका ७ सालबोटेका ६२ बर्षीय मान बहादुर आले मगरको पनि लडेर मृत्यु भएको हो । बुधबार साँझ ७ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, ताप्लेजुङको फक्तालुङ ६ स्थित फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु भएको प्रहरीको जानकारी दिएको छ। मृत्यु हुनेहरुमा फक्तालुङ ५ लामाटरका १८ बर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ बस्दै आएका २३ बर्षीय सुजन राई रहेका छन् ।

हिजो बिहान १० बजे घर नजिकै रहेको फेदी जंगलमा मालिङगो काटन भनेर दुवै जना घरबाट हिडेका थिए । दुवै जना घर फर्की नआएपछी खोजी गर्दै जाने क्रममा सोही जंगलको भीरबाट लडेर दुवै मृत अवस्थामा फेला परेका थिए । घटनाबारे साँझ साढे ६ बजे आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराए पछि सिमा प्रहरी चौकी घुन्सा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।