धरान: ईलाममा उत्पादन भएको किवी फलको बजार प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा २ दिने इलाम किवी एक्स्पो २०७६ शुरु भएको छ ।

धरान १२ स्थित छाता चोकमा शुरु भएको एक्स्पोको एक समारोहबीच १ नं प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले उद्घाटन गरिन् । उनीसँगै विशिष्ट अतिथि तथा प्रदेशसभा सदस्य उमिता वराइली, धरान उपमहानगरपालिकाका मेयर तिलक राईलगायतले किवी फल चाखेर उद्घाटन गरेका थिए । धरान र इलाम नगरबीच मितेरी साइनो गाँसिएको छ । यी दुवै नगरबीच व्यापारिक सम्बन्ध पनि कसिलो बनाउने उद्देश्यले पनि किवी एक्स्पो आयोजना गरिएको हो । इलाम उद्योग वाणिज्य संघको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सहआयोजनामा भएको एक्स्पोमा १० वटा स्टल राखिएका छन् । एक्स्पो शुक्रबारसम्म हुनेछ ।

kiwi-expo1

एक्स्पोमा रहेको १० स्टलमध्ये ७ वटामा किवी राखिएको छ भने अन्यमा इलामको अर्थोडोक्स चिया, ग्रिन टिको प्रकारहरु बिक्रीमा राखिएको छ । यस्तै, इलामको उत्पादन घिउ, ललीपप, नैनी घिउको पनि स्टल छ । इलामको किवी नेपालकै उत्कृष्ट तथा उच्च गुणस्तरको मानिन्छ । स्टलमा ३ प्रकारको किवी छ । किवीको जात र साइज हेरेर मुल्य १ सय ८० प्रतिकिलो देखि ३ सय रुपैया प्रतिकिलोसम्म छ । किवीको जुस र अचार पनि राखिएको आयोजक इलाम उद्योग वाणिज्य संघका सचिव श्रीबहादुर विष्टले जानकारी दिए । प्रत्येक स्टलमा हजार केजी किवी ल्याएका छन् । कुल ७ हजार केजी किवीमध्ये ७० प्रतिशत बिक्री हुने लक्ष्य राखिएको छ ।

kiwi-expo4

इलाममा २०६५ सालदेखि व्यवसायिकरुपमा किवी खेती शुरु भएको हो । अहिलेसम्म ५ सय भन्दा बढी समुह, सहकारी तथा कृषि फर्महरु दर्ता भएर व्यवसायिक किवी खेती भइरहेको छ । ती समुह वा फर्मअन्र्तगत सयौं किसानहरु किवी खेतीमा आवद्ध छन् । इलाममा हाल २० हजार रोपनीमा किवी खेती भइरहेको छ भने बर्षमा १ लाख केजीभन्दा बढी किवी उत्पादन भइरहेको छ । किवी खेती १ हजार २ सय मिटरदेखि माथि २ हजार ४ सय मिटरसम्मको उचाईमा उपयुक्त हुन्छ ।

इलामको सन्दकपुर गाउँपालिकामा धेरै किवी खेती हुने गरेको छ भने इलाम नगरपालिकाको वडा नं १ देखि ५, देउमाइ, माङसेबुङ, सुर्योदय, रोङ र माइ जोगमाइलगायत नगर तथा गाउँपालिकामा पनि किवी खेती विस्तार हुदै गएको किवी जोन सञ्चालक समितिले जनाएको छ । बर्षमा २० देखि २५ करोड रुपैया किवीबाट नै इलाम भित्रिने गरेको छ ।

कृषि उत्पादनलाई सरकारलाई प्राथमिकता: उपसभामुख पोखरेल

kiwi-expo-7

एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख पोखरेलले समृद्धिको अभियानलाई सफल बनाउन कृषि उत्पादन सरकारले प्राथमिकता दिएको बताइन् । उनले मुलुकलाई परनिर्भरताबाट मुक्ति दिलाउन उत्पादनलाई प्राथमिकता दिदै तिनै तहको सरकारले योजना बनाउन आवश्यक भएको पनि बताइन् । साथै, सरकारले कृषिमा अनुदान दिइरहे पनि सदुपयोग हुन नसकेकोप्रति चिन्ता पनि प्रकट गरिन् । ‘कृषि अनुदानको सदुपयोग नभएको कुरा दिनहुँजसो पत्रपत्रिकाबाट थाह पाइरहेका छौं,’उनले भनिन्,‘प्रदेश १ सरकारले विगतको त्रुटी सच्याएर अनुदान वास्तविक किसानसम्म पुर्याउने व्यवस्था गरेको छ, कृषि अनुदानको नयाँ कार्यविधि बनाएकोछ ।’

kiwi-expo6

प्रदेशसभा सदस्य उमिता वराइलीले एक्स्पोले किसान, व्यापारीलाई उत्साहित बनाउने र उपभोक्ताहरुलाई पनि कृषि उत्पादनबारे जानकारी दिने भएकोले कार्यक्रम महत्वपुर्ण भएको बताइन् । साथै उनले विदेशी उत्पादन भन्दा स्वदेशकै उत्पादनको प्रर्वद्धन र उपभोगमा यस्ता कार्यक्रमले टेवा पुग्ने बताइन् । उनले भनिन्,‘अब धरानले पनि आफ्नो उत्पादन र ब्राण्डको बजारीकरण गर्नुपर्छ, उपभोग गर्ने शहरमा मात्र सिमित हुनुहुदैन ।’

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले केन्द्र सरकारदेखि वडासम्मको बजेट अनुदान र एकै खालको योजनामा लगानी भएपनि त्यसबाट उपलब्धी भए नभएको हेक्का राख्न ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । उनले उत्पादनको प्रर्वद्धन गर्न आयोजना हुने कार्यक्रमहरुले पनि फाइदा भए नभएको बारे लेखाजोखा गर्न पनि आवश्यक भएको बताए । ‘अब धरानले पनि यहाँबाट के दिने ? के लैजाने ? भन्नेतर्फ ध्यान दिन जरुरी छ,’मेयर राईले भने,‘बजेटलाई लक्षित वर्गले उपभोग गर्न सक्ने गरी ध्यान दिनुपर्छ ।’

kiwi-expo3

kiwi-expo3 1 kiwi-expo-5