काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबारदेखि दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् ।

दोस्रो चरणको पहिलो दिन शुक्रबार दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा च्यासल युथ क्लब र मच्छिन्द्र क्लब भिड्नेछन् । यो खेल सातदोबाटोस्थित एन्फा मैदानमा मध्याह्न १२ बजे सुरु हुनेछ । राष्ट्रिय टोलीका अनुभवी खेलाडीहरु रहेका यी दुई टोली लगातार दोस्रो जितको खोजीमा छन् ।

यसअघि, लिगको पहिलो खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई र च्यासलले संकटालाई २-० ले हराएका थिए । शुक्रबारको दोस्रो खेल ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । यो खेल दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

यसअघि, पहिलो चरणको खेलमा ब्रिगेड ब्वाइजलाई मच्छिन्द्रले २-० ले हराउँदा फ्रेन्ड्स क्लबलाई त्रिभुवन आर्मी क्लबले २-१ ले पराजित गरेको थियो ।