धरान: ताप्लेजुङमा जन्मिए पनि हाल धरान १९ मा स्थायी बसोबास गर्दै आएकी इन्द्रकला नेम्बाङ(निक्की) अन्तराष्ट्रिय क्रस कन्ट्री रेसमा सहभागी हुन चीन प्रस्थान गरेकी छिन् ।

उनीसहित ८ जना नेपाली खेलाडीहरुको नेपालको टिम चीन गएका हुन् । चीनको कुन्मिङ शहरमा दुई दिने ‘चाइना इन्टरनेशनल क्रसकन्ट्री रेस १०० कि.मि.’आयोजना हुदैछ । खास नाम इन्द्रकला भएपनि उनलाई निक्की भनेर सबैले चिन्ने गरेका छन् । झण्डै आधा दशकदेखि उनी निरन्तर दौडमा सक्रिय छिन् । आफ्नै मेहनतले निक्की अहिले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा गएकी हुन् ।

उनी हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पनि नेपालको राष्ट्रिय टिममा परेकी थिइन् । उनी सागमा दौड र साइक्लिङको इभेन्ट द्ववाथलनमा नेपालको टिम इभेन्टमा राष्ट्रिय खेलाडीकोरुपमा सहभागी थिइन् । सागमा निक्की पनि सहभागी नेपालको टिम चौथो भएको थियो । नेपालको विभिन्न रेस प्रतियोगिताहरुमा सहभागी भएर विजेता भएकी निक्कीको यो विदेशी भुमिमा पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।

nikki1

तेइस बर्षीय निक्कीको दौडको शुरुवात धरान रनबाट भएको थियो । धरानमा हरेक शनिबार बिहान ठिक ७ बजे साढे ३ किलोमिटरको दौड धरान रन हुने गर्छ । झण्डै ६ बर्षअघिदेखि उनी धरान रनबाट दौडन थालेकी थिइन् । विस्तारै उनले नेवा च्यारिटी रन, उर्लाबारी रन, दमक रन, भोजपुर रनलगायत प्रतियोगिताहरुमा सहभागीता जनाउदै विजेता पनि हुन थालिन् । अहिले उनी नेपालकै अब्बल दौड तथा द्ववाथलन खेलाडीकोरुपमा परिचय बनाउन सफल छिन् । ‘निक्की बहिनीमा धेरै सम्भावना छ, उनी आफ्नै बलबुताले यो स्थानसम्म आइपुगेकी हुन् । हामीले त सपोर्ट मात्र गरेका हौं, र पनि हामीलाई गर्व छ,’धरान रनका अध्यक्ष रमु राईले कपुरीन्यूजसँग भने ।