ताप्लेजुड: नेपाल भ्रमण वर्ष २०२० का अवसरमा ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक तारानाथ घिमिरेका अनुसार प्रचार प्रसार लगायत अन्य तयारी तिव्र पारिएको हो । प्रचारका क्रममा सिक्किम पुगेर समेत त्यहाँका मुख्यमन्त्री तथा सिक्किमका वासिन्दालाई निम्तो दिइएको छ । सिक्किममा पत्रकार सम्मेलन गरि सिक्किमवासीलाई महोत्सवमा निम्तो गरिएको हो । प्रदेश नम्वर १ का उद्योग वातावरण तथा पर्यटनमन्त्री जगदिश कुसियतलाई भेटेर परियोजना प्रस्ताव गरिएको संयोजक घिमिरेले बताए ।

महोत्सवमा म्याराथनसहित विभिन्न खेलकुद प्रतियोगिता हुने छन । सदरमुकाम फुङलिङदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड हुनेछ । महोत्सव अवधिभर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, तिम्बुङ पोखरी, फुङफुङे झरनालगायतका पर्यटकीय क्षेत्रको हेलिकप्टरमार्फत अवलोकन गराइने ब्यवस्था मिलाइएको संयोजक घिमिरेले जानकारी दिए ।

महोत्सव अवधिभर कृषि मेला प्रर्दशनी, औद्योगिक हस्तकला तथा शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव, फोटो प्रर्दशनी, स्थानीय जातजाति तथा समुदाय विशेष साँस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा मेचीका सबै जिल्लाले एक–एक वटा स्टल राख्ने तयारी गरिएको छ । हरेक दिन प्याराग्लाइडिङको मज्जा समेत लिन सकिने छ । “पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण” भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्तरूपमा महोत्सवको आयोजना गरेका हुन् ।