झापा : जनताको जिउधनको रक्षा गर्नुपर्ने जिम्मेवारी लिएको नेपाल प्रहरी आगो बाल्न व्यस्त छ यतिबेला । झापासहित प्रदेश १ का विभिन्न जिल्लामा प्रहरी ठाउँ ठाउँमा दाउरा पुर्याउदै आगो बालिरहेको छ भन्दा धेरैलाई आश्चर्य पनि लाग्न सक्छ ।
पूर्वमा चिसो बढेर जनजिवन प्रभावित भएसंगै प्रहरीले स्थानीय सरकार र समुदायसंगको सहकार्यमा ठाउँ ठाउँमा आगो बालेर सामुहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका विभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने व्यबस्था मिलाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई न्यानो अनुभुती गराउन १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले सबै प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने व्यबस्था मिलाउन निर्देशननै दिएपछि मातहतका जिल्लाका प्रहरी इकाईहरुले त्यस्तो व्यवस्था मिलाएका हन् ।

सो निर्देशन लगत्तै शुक्रबार मात्र तराईका झापा, मोरङ र सुनसरी जिल्लाका ३ सय भन्दा बढी ठाउँमा आगो बालेर ताप्ने व्यबस्था मिलाईएको प्रहरीले जनाएको छ । ति स्थानहरुमा काठका मुढा तथा दाउराहरु बालिएको छ ।
केहिदिन देखि बढेको चिसोका कारण यहाँको जनजिवन कष्टकर बनेको छ । बाक्लो हुस्सु लागेर शितलहर बढेसँगै आवतजावतमा समस्या भएको छ । हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको छ भने बालबालिका, बुढाबुढी र जनमजदुर समस्यामा परेका छन् । चिसो बढेका कारण दमका रोगीहरु प्रभाबित भएका छन् । टाढाबाट गाडीमा यात्रा गरि आउनेहरु, ब्यबसाय गर्ने ब्यापारीहरु र जनमजदुर गर्ने श्रमिकहरुलाई सहजताका लागि प्रहरी कार्यलयहरुले बजार तथा चौक क्षेत्रमा आगो बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन अनुरोध गर्दै प्रहरीले मानिसहरुको बाक्लो उपस्थिति हुने स्थानमा मुडा बालेर आगो ताप्ने व्यवस्था गरिदिएको हो ।

चिसोका कारण विद्यालय बन्द

लगातार बढेको चिसोका कारण झापाको गौरीगंज गाउपालिका भित्रका सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । गौरीगंज गाउपालिका शिक्षा शाखा प्रमुख केशब भट्टराईले सामुदायिक विद्यालयमा अध्यानरत विद्यार्थीहरु जाडोका कारण न्यून उपस्थिति रहेकाले पुस ६,७ र ८ गतेका लागि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी गराएका छन् । विशेष गरि आर्थिक अबस्था कमजोर भएका र बिपन्न परिवारका बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्यान गर्ने भएकाले न्यानो लुगा नभएका कारण सामान्य लुगाकपडामा विद्यालय आउने भएकाले आपत्तकालिनका लागि बिद्यालय बन्द गरिएको शिक्षा अधिकृत केशब भट्टराईले बताए । गौरीगंज गाउपालिका भित्र २६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।