धरान: धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले उपमहानगर सबै जातजातिको अभिभावक संस्था भएको बताएका छन् ।

शनिबार किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । उनले मतदान हुनुअघि मंसिर १४ गतेसम्म मात्र आफु कुनै पार्टी बिशेषको प्रतिनिधि भएको र अहिले मेयरमा विजयी भएपछि सबै पार्टी, जाति धर्म र सँस्कृतिको प्रतिनिधिकोरुपमा रहेको पनि धारणा व्यक्त गरे । उनले आफु आग्रह, पुर्वाग्रहविना काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै राम्रो विचार,योजना र कार्यक्रम लिएर आउने जो कोही भएपनि त्यसलाई अघि बढाउने पनि बताए । ‘धरान उपमहानगरपालिका सबैको अभिभावक संस्था हो, त्यो भुमिकामा रहनुपर्छ,’उनले भने,‘म मंसिर १४ गतेसम्म मात्र पार्टी बिशेषको हो, अब सबैको हो, मेरो प्रस्तुती, कार्यशैली त्यही अनुसारको हुनेछ ।’

मेयर राईले सबैबाट आफुले साथ सहयोगको अपेक्षा गरेको पनि बताए । उपमहानगरको टिममा अढाई बर्षदेखिका अनुभवीहरु पनि भएकोले आफुले धेरै सिक्न बाँकी रहेको पनि उनले बताए । ‘म भर्खर आएको छुँ, त्यहाँ अढाई बर्षदेखिका साथीहरु हुनुहुन्छ । मैले धेरै सिक्नुछ, कर्मचारी साथीहरुको पनि मनोविज्ञान बुझ्नुछ,’मेयर राईले भने । उनले स्थानीयतहमा पक्ष र विपक्ष नहुने धारणा राख्दै सबै सरकार पक्ष मात्र हुने भएकोले सहकार्य, समन्वयमा नै काम गर्ने बताए । ‘मेयर, उपमेयर र वडाअध्यक्षहरु सबै सरकार पक्ष नै हो । धरानको समस्या, माग र मुद्दा पार्टी बिषेशको हुदैन, हुने छैन । तर कार्यशैलीमा आग्रह, पुर्वाग्रह छ भने म आजैबाट त्याग्न पनि साथीहरुलाई आग्रह गर्छु,’मेयर रार्ईले भने ।

yayokha-tilak1

उनले अहिलेसम्म सिडिओ कार्यलयमा दर्ता भएको संस्था(एनजिओ)हरुमार्फत बजेट खर्च गर्ने परिपाटीलाई परिवर्तन गरेर समुदायमा आधारित मोडालिटीबाट खर्च गर्नुपर्ने पनि बताए । त्यसो गरे समुदायको सहभागिता पनि हुने र सरकारको कार्यक्रम, योजनबाट जनता प्रत्यक्ष लाभान्वित पनि हुने उनको भनाई थियो ।

कार्यक्रममा यायोक्खा सुनसरीले मेयर राइराईसँगै पत्रकारद्धय उपेन्द्र चाम्लिङ राई र विकास चाम्लिङ राईलाई पनि बधाई ज्ञापन गरेको थियो । यायोक्खाले शनिबार धरान १० स्थित यलम्बर स्मृति संग्राहलयमा एक कार्यक्रम आयोजना गरि बधाई ज्ञापन गरेको हो । मेयर राई यायोक्खाको पुर्व केन्द्रीय अध्यक्ष पनि हुन् । राई कुलमा जन्मिएर महत्वपुर्ण राजकीय स्थानमा पुगेको भन्दै यायोक्खाले उनलाई बधाई ज्ञापन गरेको जनाएको छ ।

IMG_20191221_105359

पत्रकार विकास चाम्लिङ हालै नेपाल फोटो पत्रकार महासंघ सुनसरीको जिल्ला अध्यक्षमा चयन भएका छन् भने उपेन्द्र चाम्लिङ विराटनगरमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका थिए । नवनिवार्चित मेयर राई र फोटो पत्रकारद्धयलाई यायोक्खाका केन्द्रीय महासचिव जनक राई, उपमहासचिव तथा संगठन विभाग प्रमुख भिम राई, सचिव दोर्पध्वज राईलगायतले किराती सँस्कृतिअनुसार शिरमा फेटा बाँधिदिएका थिए भने बधाई ज्ञापन पत्र पनि प्रदान गरेका थिए । ‘हाम्रै राई समुदायका व्यक्तित्वहरु महत्वपुर्ण स्थान र जिम्मेवारीमा पुगेकोले हामीलाई पनि गर्व छ, त्यसैले उहाँहरुको कार्यकाल सफल रहोस् भनेर बधाई ज्ञापन तथा शुभकामना कार्यक्रम गरिएको हो,’यायोक्खा जिल्ला अध्यक्ष वलराम राईले भने ।