झापा : बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत झापाको रतुवा खोलादेखि पुर्व विरिङ्ग खोलासम्मको बाटो निर्माण कार्य शुरू हुने भएको छ ।

हुलाकी सडक अन्तर्गत झापाको गौरीगंजको पश्चिम सिमाना रतुवा खोलादेखि निर्माण कार्यको प्राम्भिक चरण बाटो छुट्याउने कार्य शुक्रवारदेखि शुरू भएपछि बाटोको निर्माण कार्य शुरू हुने भएको हो । गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ५ का अध्यक्ष वियज प्रसाद गन्गाई, वार्ड सदस्य राजेन्द्र ताजपुरिया, गाउँपालिकाका शाखा अधिकृत विरेन्द्र खड्का , नापी शाखा दमकका सर्वेक्षक सुगम पाण्डे र स्थानियहरूहरूको सहभागितामा बाटो निर्माणका लागि साविकको बाटो छुट्याउने कार्य शुरू गरिएको हो । नापी शखाका सर्वेक्षक सुगम पाण्डेका अनुसार साविक बाटोको विचको विन्दु यकिन गरि दायाँबायाँ दुवैतर्फबाट १५–१५ मिटर चौडाई बाटो फराकिलो हुने गरि नापी नक्सा गरिरहेको बताए ।

निर्माण कार्यको ठेक्का लिएको मोदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयोजना इटहरीले लिएको छ । मोदीदान कन्ट्रक्सन सेवा प्रालिका प्रमुख राम बहादुर गौतमका अनुसार रतुवा खोला देखि पुर्व २९ किलोमिटर बाटो निर्माण गर्न १ अरब ५० करोड रूपैयाँमा ठेक्का लिएको बताए । कम्पनी र हुलाकी राजमार्ग आयोजनासंगको संयुक्त सर्भे र बाटो छुट्याउने कार्य पश्चात निर्माण कार्यले तिव्रता लिने कम्पनिका प्रमुख गौतमले बताए । साविक बाटोको बिचको विन्दुलाई केन्द्र मानि बाटोको दायाँबायाँ १५–१५ मिटर चौडा बनाई ७ मिटरको पिच हुने उनले बताए । बाटोमा पर्ने कल्भर्ट र पाइप कल्भर्ट साथै बजार क्षेत्रमा नालासहितको बाटो निर्माण हुनेछ ।
गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज गाउँपालिका अन्तर्गतको हुलाकी बाटो छुट्याउने कार्य भईरहेको बताए । साविक हुलाकी बाटोको बीचको विन्दु यकिन गरि दुवै तर्फबाट १५–१५ मिटर चौडाई लिई बाटो छुट्याईरहेको अध्यक्ष श्रेष्ठले बताए । यदि कहि कसैको १५ मिटर भित्र घर, जग्गा या कुनै भौतिक संरचना परे त्यसको कुनै क्षतिपूर्ति नहुनेसमेत अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

गौरीगंज गाविसका तत्कालिन गाविस अध्यक्ष घनश्याम रिजालले राणाकालमा तराईलाई चिनाउने हुलाकी बाटो निर्माण कार्य धेरै वर्षपछि यो क्षेत्रमा निर्माण हुन लागेकोमा आफु हर्षित भएको बताए । हुलाकी बाटो निर्माणले यस भेगका नागरिकको जनजिविकामा ठुलो परिवर्तन आउने अपेक्षा गरेको उनले बताए । ‘ बाटो निर्माण कार्य रतुवा पुलको जस्तो ढिलासुस्ति नहोस्, अध्यक्ष रिजाल भन्छन्– ‘समयसिमा भित्र निर्माण कार्य सम्पन्न होस् ।’
बाटो निर्माण गर्ने क्रममा बाटोको दायाँबायाँ १५ – १५ मिटर भित्र भौतिक संरचना यदि कसैको परे गाउँपालिकाले मापदण्ड बनाई राहत स्वरूप क्षतिपूर्ति लिए राम्रो हुने उनको भनाई थियो । गौरीगंज गाविसका अर्का तत्कालिन पुर्व गाविस अध्यक्ष देवीप्रसाद राजवंशीले हुलाकी सडक निर्माण प्रक्रियाले अब केही यस क्षेत्रमा आम परिवर्तन हुने आशा जगाएको बताए ।
पुरानो र बहुप्रतिक्षित हुलाकी सडक धेरै पहिले नै बन्नु पर्ने हो तर दुर्भाग्य भनु ढिलो भएपनि यसको निर्माण शुरू हुनुले यस भेगका जनताको भाग्य र भविष्य कोर्ने उनको कथन थियो । सडक विस्तार भईरहदा साविक नक्सामा भएको बाटो अनुसार छुट्याउदा राम्रो हुने बताउदै पुर्वअध्यक्ष राजवंशीले बाटोभित्र भौतिक संरचना परे गाउँपालिकाले राहतस्वरूप केही क्षतिपूर्ति प्रदान गरे सबैको चित्त बुझ्ने बताए ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष तथा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोले हुलाकि सडक को निर्माण कार्यले यसभेगका जनताको पुरानो सपना पूरा हुने बताए । हुलाकी सडक निर्माण कार्य ठेक्का लिएको ठेकेदारको ईमान्दारी र सक्रियतामा भर पर्ने भएको हुदा सडकको निर्माण समयमा हुने या नहुनेमा अध्यक्ष महतोले बताए । रतुवा खोलाको पुल र गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा रहेको लेरा खोलाको पुल निर्माणमा ठेकेदारको ढिला सुस्तिले निर्माण कार्य सम्पन्न नभएको हुदा त्यसकिसिमको कार्य हुलाकी सडकका ठेकेदारले नगरोस भन्दै उनले आग्रह गरे । उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका महतोले साविक नक्सा अनुसार बाटोको केन्द्र विन्दु यकिन गरि बाटो छुट्याउनु पर्ने बताउदै अध्यक्ष महतोले यसमा कसैको विवाद नआउने बताए ।

बाटो छुट्याउदा यदि कसैको घर वा कुनै भौतिकसंरचना बाटो भित्र परे नागरिकलाई राहतका लागि सरकारले व्यवस्था नगरेपनि स्थानिय गाउँपालिकामा क्षतिपूर्ति माग गर्ने बाटो खुल्ला रहेको उनले बताए ।