धरान: धरानसँग सिमाना जोडिएको सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) बाट एसएमजी*, त्यसमा प्रयोग हुने ठुलो परिणाममा गोली फेला परेको छ ।

स्थानीय एक पुर्व माओवादी कार्यकर्ताको घरको जमिन मुनि गाढेको अवस्थामा प्रहरीले गोली फेला पारेको हो । स्थानीय एक व्यक्तिले दिएको जानकारी अनुसार एउटा एसएमजी भेटिएको छ भने ठुलो परिणाममा गोली पनि वरामद भएको छ । उक्त घर पुर्व माओवादी कार्यकर्ता खेम प्रधानको हो । उनी द्धन्दको बेला माओवादीमा सक्रिय थिए । अत्याधुनिक हतियार, गोली भेटिए पछि अहिले जिल्ला प्रहरी प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलसहित प्रहरी अधिकारीहरु घटनास्थलमा छन् ।

गोप्य सुचनाको आधारमा खानतलासी गर्दा हतियार र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोछ । हतियार कस्ले र कहिले लुकाएको भन्ने प्रष्ट भइसकेको छैन । तथापी, माओवादी सेना समायोजनको समयमा तत्कालिन माओवादीले लुकाएको हुनसक्ने अनुमान गरिएको छ । हतियार र गोली भेटिएको क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । (*समाचारमा एसएमजी हुनुपर्नेमा एसएलआर भएकोले सच्याइएको)