धरान: आज दिउँसो एक एसएमजी र ठुलो परिणाममा गोली भेटिएको घरधनी खेम प्रधान सशस्त्र द्धन्दकालमा माओवादी कार्यकर्ता थिए । उनी त्यसबेला अर्धभुमिगत अवस्थामा सक्रिय भएको सुनसरीको बराहक्षेत्र नगरपालिका ५ का बासिन्दाहरु बताउँछन् ।

शान्ति प्रक्रिया र सेना समायोजनको केही बर्षसम्म राजनीतिमा सक्रिय रहेका प्रधान पछिल्लो आधा दशक यता भने चुपचाप थिए । उनले २०६७ सालमा घरमा नै कुखुरा फर्म खोलेका थिए, र उनी त्यसैमा केन्द्रीत थिए । राजनीतिकरुपमा निष्क्रिय तिनै प्रधानको घरबाट आज दिउँसो सुरक्षा निकायले एउटा खिया लागेको एसएमजि र ठुलो परिणाममा गोली वरामद गर्यो ।

प्रधान २०७४ सालको स्थानीयतह निर्वाचन अघिबाट नै राजनीतिमा निष्क्रििय भएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाले जानकारी दिए । ‘उहाँ सशस्त्र द्धन्दकालमा अर्धभुमिगत हुनुुहुन्थ्यो । शान्ति प्रक्रियाको केही बर्षसम्म पनि राजनीतिकरुपमा सक्रिय भए, तर केही बर्षअघि देखि राजनीतिकरुपमा निष्क्रिय भएर बस्नुभएको थियो, पार्टीसँग पनि त्यति सम्पर्क थिएन,’प्रधानको बारेमा मेयर खनालले भने ।

करिब १० हजार गोली वरामद

bharaul-2

जिल्ला प्रहरी प्रमुख तथा एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रधानको घरको कुखुरा फर्मको जमिन मुनिबाट एउटा खिया लागेको एसएमजि र ९ हजार ९ सय ९२ थान गोली वरामद भएको छ ।

नेपाली सेनाको इटहरीस्थित पुर्वी पृतना मुख्यालयको टोलीले प्रधानको घरबाट हतियार र गोली वरामद गरेको एसपी पोखरेलले बताए । ‘सुचना हामीलाई पनि थियो, तर आज नेपाली सेनाको टोलीले वरामद गरेको,’एसपी पोखरेलले भने । कुखुराको फर्मको ढलाई गरिएको मुनि २० लिटरको प्लाष्टिकको ड्रामभित्र हतियार र गोली राखेर गाडिएको अवस्थामा भेटिएको हो । त्यसबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

तस्बिरहरु : दिपक पुरी/भरौल