धरान: सँस्कृति संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा ४ दिने यःमरी सँस्कृतिक तथा पर्यटन उत्सवको तयारी भएको छ ।

नेवाः देय दबु धरान उपमहानगर समितिले यही पुष ९ गतेदेखि १२ गतेसम्म धरान १२ छाता चोकस्थित सोमबारे हटियास्थलमा उत्सव आयोजनाको तयारी गरेको हो । यःमरी खानाको परिकार मात्र नभएर नेवार जातिको महत्वपुर्ण साँस्कृतिक चाड पनि भएकोले यसको संरक्षण तथा प्रर्वद्धनको लागि उत्सव आयोजना हुन लागिको मुल आयोजक समितिकी संयोजक शिला ब्रजचार्यले बताइन् । ‘यःमरी पकाएर खाने मात्र चाड होइन, हामी नेवारहरुको बिशेष साँस्कृतिक महत्वको चाड हो,’बज्रचार्यले भनिन्,‘नयाँ धान भित्र्याएर यःमरी पुजा नगरी खादैनौं, यसको ठुलो महत्वप छ ।’

धरानमा पनि सँस्कृति संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले नेवार जातिले विगत ८ बर्षदेखि यःमरी उत्सव मनाउदै आइरहेका छन् । उपत्यकामा यो चाडलाई भव्यरुपमा मनाउने गर्छन् । नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरीलाई पञ्चतत्वकोरुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीकोरुपमा चामलको पिठो, अग्नीकोरुपमा चाकु, जलकोरुपमा पानी, आकाशकोरुपमा खाली ठाउँ र वायुकोरुपमा तिललाई लिइन्छ । प्रकृति पुजक नेवार जातिको यःमरी पुजालाई भव्यरुपमा सम्पन्न गर्ने उद्देश्यले पनि उत्सव आयोजना गरिएको मुल संयोजक बज्रचार्यले बताइन् ।

yamari-3

समाजसेवी सरला कायस्थले नेवारहरुको जन्मदेखि हरेक शुभकार्यहरुमा यःमरी आवश्यक पर्ने बताइन् । विगतका उत्सवहरुमा यःमरी माग वमोजिम पुर्याउन नसकिएकोले यसपाली करिब ५० जनालाई बिशेष प्रशिक्षण दिइएकोले पर्याप्त हुने उनले बताइन् । ‘यःममरी कसरी बनाउने भन्ने तालिम दिइएको छ, यसपाली यःमरीको साइज, गुणस्तर र मुल्य एउटै हुन्छ,’समाजसेवी कायस्थले भनिन् ।

उत्सवमा २५ देखि ३० वटा स्टल रहने आयोजक संस्थाका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । उनका अनुसार उत्सवमा यःमरीसहित परम्परागत नेवारी परिकारहरु मुख्य आकर्षण हुनेछ भने बहुजातिय खानाको परिकारहरुको पनि स्टल राखिनेछ । यस्तै, नेवारी साँस्कृतिक कार्यक्रम, लिच्छविकालिन चर्या नृत्यहरुको साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती हुनेछ । ‘उत्सवस्थलमा गत बर्ष ३५ केजीको यःमरी राखेका थियौं, यसपाली पनि ५ फिटको यःमरी राख्ने तयारी छ,’अध्यक्ष शाक्यले भने ।

yamari2