इलाम : इलाम अस्पतालमा बिरामीले निःशुल्क रगत पाउने भएका छन् । अस्पतालमा भर्ना भएर रगतको आवश्यकता पर्ने बिरामीका लागिआइतबारदेखि निःशुल्क रगतको व्यवस्था गरिएको छ ।

नेपाल रेडक्रम सोसाइटी इलामले स्थापना गरेको रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत् निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको नेपाल रेडक्रम सोसाइटीले जनाएको छ । यसअघि अस्पतालमा एक पिन्ट रगतको ७ सय रुपैयाँ तिर्दै आएका थिए । रेडक्रसले ब्लड ब्याग, आइबीसेट, रक्त परीक्षणलगायतमा लाग्ने खर्च वापतको ७ सय रुपैयाँ लिदैं आएको थियो । समाजसेवी रतनकुमार चौधरीको सहयोगमा रेडक्रसले निःशुल्क रगत वितरणको व्यवस्था गरेको हो । नेपाल रेडक्रस सोसाइटीका उपसभापति तथा रक्तसंचार सेवा संयोजकसमेत रहेका चौधरीले निःशुल्क रगत वितरणका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार उपलब्ध गराउने भएका छन् । चौधरीले २०८० साल असार मसान्तसम्मका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौता भएको छ । यही रकमबाट रेडक्रसले खर्च व्यवस्थापन गरी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेछ । इलाम अस्पतालमा वार्षिक सरदर २ सय पिन्ट रगत आवश्यक पर्ने अस्पतालले जनाएको छ ।