धरान: हालै काठमाण्डौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)अन्र्तगत तेक्वान्दोमा स्वर्ण पदक विजेता धरानकी सिना लिम्बु मादेनलाई सोमबार भव्य स्वागत गरिएको छ ।

उनलाई धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुसहित वडाबासी, अभिभावक र छरछिमेकीहरुले आज दिउँसो भव्यस्वागत गरेका हुन् । उनलाई धरानको बगरकोटमा च्याब्रुङसहित फुलमाला र अबिर लगाएर स्वागत गरिएको थियो । त्यहाँबाट उनलाई च्याब्रुङ बजाएर नै पैदल हिडाएर घरसम्म लगिएको थियो । स्वर्ण पदक विजेता मादेन आफ्ना आमाबुबासँग वडा नं ५, झोडापाटामा बस्छन् ।

सिनाले फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् । स्वर्ण जित्दा असिम खुशी भएकी सिना आफ्नो घर आउदा न्यानो स्वागत र माया पाउदा पनि उस्तै खुशी भइन् । ‘मेडल जित्दा असाध्यै खुशी थिएँ, अहिले आफ्नो ठाउँमा स्वागत पाउदा गर्व लागिरहेकोछ,’उनले भनिन् ।

gold1

सिनाको बुबा नविनचन्द्र लिम्बु आफै पनि तेक्वान्दोकी पुर्व राष्ट्रिय खेलाडी हुन् । आमा विष्णु लिम्बु भने गृहणी हुन् । सिनाको दुई दिदीहरु रितु मादेन र ऋचा मादेन पनि तेक्वान्दोकी राष्ट्रिय खेलाडी नै हुन् । सिना परिवारकी कान्छी छोरी हुन् । ‘छोरीले मेरो मनको चाहना पुरा गरिदिइन्, धेरै धेरै खुशी छुँ,’अन्र्तराष्ट्रिय प्रतियोगितामा छोरीले स्वर्ण जितेपछि खुशी व्यक्त गर्दै बुबा नविनले भने ।

वडा नं ५ का वडाअध्यक्ष सन्तोष लिम्बुले देशको लागि स्वर्ण पदक जित्ने खेलाडी आफ्नो वडाबासी भएकोले वडा कार्यालयले पनि भव्यरुपमा कार्यक्रम गरेर उनलाई स्वागत तथा सम्मान गर्ने बताए । ‘देशको लागि स्वर्ण पदक जितेकी छिन्, यो गर्वको कुरा हो । वडा कार्यालयले अलग्गै कार्यक्रम गरेर खेलाडीलाई सम्मान गछौं,’उनले भने ।

gold5 gold2 gold3 gold6 gold7