काठमाण्डौं: नेत्रविक्रम चन्द विप्लवका दाई चन्द्रवहादुर चन्दसहित बिप्लव समूहका २१ नेताहरु जेल चलान भएका छन् ।

दाङस्थित देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसकेपछि उनीहरु जेल चलान भएका हुन्। सोमवार जिल्ला अदालतले उनिहरुलाई जनही १५ /१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर विप्लव समूहका २१ जना नेताले आँफूहरुले धरौटी तिर्न नसक्ने भन्दै कारागार चलान हुने निर्णय गरेका थिए । उनीहरुलाई केही समयअघि प्रहरीले बैठकस्थलबाट पक्राउ गरेको थियो ।

विप्लवका दाजु चन्द्रले जिल्ला अदालतले तोकेको धरौटी रकम तिर्न नसक्ने भएपछि आफुहरु कारागार जाने निर्णयमा पुगेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘हामी धरौटी तिरेपनि मुक्त हुने अवस्था थिएन,’उनले भने । अदालतमा धरौटी तिरेर आँफुहरु रिहा भएपनि लगत्तै प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने उनको भनाई थियो ।

प्रहरीले पनि फरक मुद्दा लगाएर अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिने तयारी गरेको थियो। त्यसैले नेताहरु कारागार जाने निर्णयमा पुगेका हुन् । नेकपाको राप्ती ब्यूरो बैठकको क्रममा गत कार्तिक ३० गते दाङको राजपुर गाउँपालिकाको बिकट जंगल क्षेत्रबाट उनीहरुलाई प्रहरीले पक्राउ परेको थियो । प्रहरीले उनीहरुविरुद्ध राज्य विरुद्धको संगठित अपराधको मुद्दा चलाएको थियो ।