ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नती गर्ने काम भइरहेको छ । सहज उडान र अवतरणका लागि विमानस्थलको थप विस्तार र स्तरोन्नतीको काम भइरहेको हो ।

भ्रमण वर्षलाई समेत लक्षित गरी भइरहेको विस्तारको कार्य तीव्र गतिमा अघि बढेको सुकेटार विमानस्थल प्रमुख रूपेश मुरारकाले बताए । अहिले विमानस्थलको धानवमार्ग ७ सय मिटर लम्बाई र चौडाइ २० मिटरको छ । स्तरोन्नति पछि ९ सय मिटर हुनेछ ।

थप विस्तारपछि जहाज विमानस्थलको उत्तर र दक्षिण दुवैतर्फबाट उडान तथा अवतरण गर्न सकिने जनाइएको छ  । प्राधिकरणले १६ करोड बजेट छु्ट्याएकोमा कृष्ण बंगलामुखी जेभी कन्ट्रक्सनले ८ करोड ९९ लाख ५० हजारमा ठेक्काको जिम्मा लिइ काम सुरु गरेको हो ।

यस विमानस्थलमा नेपाल वायु सेवा निगमले साताको तीन दिन सोमबार, बुधबार र शनिबार काठमाडौं–ताप्लेजुङ उडान गर्दै आएको छ भने सीता एयरले समेत दैनिक भद्रपुर ताप्लेजुङ उडान गरिरहेको छ । निर्माणका क्रममा विमानस्थल अवरुद्ध भएको छैन ।