धरान : धरानमा गार्डेन कफी खेती सम्बन्धी प्रशिक्षण र विरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार धरान १५ को सुवेदी टोलका सुनौलो बाल संरक्षण आमा समुहलाई उक्त तालिम प्रदान गरिएको हो ।

धरान कफी तथा कृषि उद्यम केन्द्र धरान १५ ले आयोजना गरेको तालिममा ६० घर परिवारबाट महिला दिदी बहिनीहरुको सहभागीता रहेको थियो । केन्द्रका अध्यक्ष बालजित राईको अध्यक्षतामा सम्पन्न भएको तालिमको संयोजक सावित्री ईवाराम रहेकी थिइन् । केन्द्रकी निर्देशक एवं महिला उद्यमी अन्जना राई तथा मिस स्टेट वान २०७६ की विजेता केन्द्रकी सद्भावना दुत रजनी तुम्साले प्रशिक्षणलाई सहजिकरण गरिन् । धरानमा एक घर कफी लगाई धरानलाई हरियाली सहर बनाउन सकिने र यसबाट सन्दर्यता सँगै आम्दानी पनि गर्न सकिने निर्देशक राईले बताउनु भयो । वातावरण र माटोको दृष्टीकोणले धरान गार्डेन कफी खेतीका लागि उपयूक्त भएकाले योजना तथा कार्यक्रम बनाएर एक घर, एक कफीको कार्यक्रम सञ्चालन गर्न धरान उपमहानपालिकालाई उनले सुझाव समेत दिइन् ।

यस प्रशिक्षणले महिलाहरुको आय आर्जन गर्न सहयोग गर्ने र धरानको हरियाली प्रवर्धन समेत हुने भएकाले कार्यक्रमलाई अन्य टोलहरुमा पनि सञ्चालन गर्ने प्रतिवद्धता प्रमूख अतिथी धरान १५ का वडाअध्यक्ष नरेश ईवारामले व्यक्त गरे ।

तालिमपछि सहभागीको अगुवाईमा उक्त क्षेत्रमा आ आफ्नो करेसाबारीमा कम्तिमा १ बोट कफी लगाई कफी उत्पादन गर्न सहयोग गर्नेछन् । उक्त उत्पादन भएको कफी केन्द्रले नै किन्ने समेत व्यवस्था गरिएको छ । एक कफीको विरुवाको रु १५० पर्ने र ४ वर्ष पछि कफी फल्नेछ । जसबाट गार्डेनको सौन्दर्यता सँगै आम्दानी समेत गर्न सकिने जानकारी गराईएको थियो । कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र बस्नेत लगायत टोलका अगुवाहरुको समेत सहभागिता रहेको थियो । तालिम पछि विरुवा समेत निःशुल्क पाइएकोले सहभागीहरुले आफुहरु कफी फलाउन उत्साहित भएको प्रतिकृया दिएका छन् ।