काठमाडौँ: संविधान संशोधन गर्नेसहितको सहमतिमा सरकारमा गएको समाजवादी पार्टीले अन्ततः सरकार छोडेको छ ।

संविधान संशोधन गर्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकरात्मक नभएको भन्दै समाजवादीले सरकार छोडेको हो । प्रधानमन्त्रीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मन्त्री पदबाट राजिनामा दिइसकेका छन् । समाजवादी पार्टीले सरकार छोडेपछि अर्को मधेशवादी दल राष्ट्रिय जनता पार्टी सरकारमा जाने अनुमान गरिएको छ । केही दिनअघि राष्ट्रिय सभाको सदस्य निर्वाचनमा नेकपा र राजपाबीच सहमति भएको थियो । यो सहमतिले राजपालाई संघीय सरकारमा जाने सम्भावनालाई पनि बढाएको छ ।

समाजवादीका अध्यक्ष यादव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री थिए । उनलाई प्रधानमन्त्री ओलीले भर्खर मात्र स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । अर्का मन्त्री राई सहरी विकास मन्त्री थिए । यादवले दिएको राजिनामा पत्रमा संविधान संशोधनको लागि आवश्यक गृहकार्य गर्न विज्ञ सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकोले यसअघिको सहमति तोडिएको भन्दै सरकार छाड्नुको कारण प्रष्ट्याएका छन् । यादवले संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेको र उक्त प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरेको पनि खुलाएका छन् ।

मन्त्रीपरिषद बैठकमा यादवले लगेको प्रस्तावमा संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरी संविधान संशोधनको मस्यौदा पेश गर्न कानुनका विज्ञहरुको एक समिति बनाउन भनेका थिए । विज्ञ समितिमा ख्यातिप्राप्त संविधानविद् वा सर्वोच्च अदालतका पूर्व न्यायाधीशलाई अध्यक्षमा प्रस्ताव गरिएको छ । यस्तै सदसेयमा नेपाल कानुन आयोगका अध्यक्ष, कानुन आयोगका उपाध्यक्ष, कानुन मन्त्रालयले तोकेका तीन जना संविधानविद्, कानुन सचिवबाट मन्त्रालयले तोकेका सचिवलाई राख्ने गरी प्रस्ताव तयार गरिएको थियो।