सुनसरी: नेपाल विज्ञापन संघ, १ नं प्रदेश समितिको पदाधिकारी विस्तार गरिएको छ ।

संघको मंगलबार इटहरीमा सम्पन्न भेला तथा अन्र्तक्रिया कार्यक्रबाट प्रदेश १ समितिलाई विस्तार गरिएको हो । उक्त भेलाले समितिको सहसंयोजक र सचिव चयन गरेको छ । सह-संयोजकमा ए. एस. एडभरटाइजिङ प्रालि बिराटनगरका सञ्चालक झलक केसी चयन भएका छन् भने सचिवमा उज्यालो एडभरटाइजिङ प्रा.लि. धरानका सञ्चालक मात्रिका प्रसाद नेपाल चयन भएका छन् । सचिव नेपाल कपुरीन्युज डटकमका अध्यक्ष एवं प्रबन्ध निर्देशक पनि हुन् ।

यसअघि संघको प्रदेश समिति संयोजकमा पवन अधिकारी मात्र चयन भएका थिए । अब संयोजक, सहसंयोजक र सचिव गरी ३ सदस्यीय समिति भएको छ । सातै प्रदेशहरुमा प्रदेश कमिटि गठन गर्ने योजना स्वरुप संघको बिस्तारमा लागिएको केन्द्रिय अध्यक्ष शशी रिजालले बताए ।

अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष रिजालले समाचार मात्र मिडिया नभएको धारणा राख्दै विज्ञापन नै मिडिया भएको दाबी गरे । उनले विज्ञापन नभए मिडिया चल्न नसक्ने बताए । ‘विज्ञापन भएन भने मिडिया चल्न गाह्रो छ, विज्ञापन नै मिडिया हो,’केन्द्रीय अध्यक्ष रिजालले भने । वर्तमान सरकारले विदेशी विज्ञापनमा रोक लगाउनु सकारात्मक रहेको उल्लेख गर्दै उनले मिडिया हाउस संस्थागत हुनुपर्ने पनि बताए । ‘विज्ञापन संघले व्यक्तिलाई सम्बोधन गर्दैन, संस्थालाई सम्बोधन गर्छ । मिडिया हाउसहरु संस्थागत हुन जरुरी छ,’उनले भने ।

IMG-7957

संघका प्रदेश १ का संयोजक पवन अधिकारीले विज्ञापनलाई व्यवसायको रुपमा बुझ्न आग्रह गरे । विज्ञापनले नै मिडिया हाउस चल्ने र व्यवसायलाई पनि फाइदा पुग्ने उनको धारणा थियो । ‘विज्ञापन सहयोग होइन, व्यवसाय हो,’उनले भने । प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरीले विज्ञापन दिएकै कारण समाचार रोक्नुपर्ने अवस्थाको अन्त्य गर्न विज्ञापन संघको पनि भुमिका हुनुपर्ने बताए । रेडियोहरुको छाता संगठन बानका केन्द्रिय अध्यक्ष चन्द्र न्यौपालेले अस्वस्थ्य प्रतिष्पर्धाले सम्पुर्ण रेडियोहरुलाई समस्या भइरहेको बताए । कार्यक्रममा १ नम्बर प्रदेशका बिभिन्न रेडियो,टेलिभिजन,अनलाइन एवम बिज्ञापन एजेन्सिहरुले सहभागिता जनाएका थिए ।