विर्तामोड: वर्षातको समयमा असाध्यै दुःख दिने गरेको विरिङ र टाङटिङ नदीलाई व्यवस्थीत गर्न स्थानीयहरुले माग गरेका छन् । माग पुरा नहुदा नदिजन्य पदार्थ उत्खन्नमा स्थानीयबासीले अवरोध गर्दै आएका छन् ।

झापाको अर्जुधारा नगरपालिकाका स्थानीयबासीले बर्षेनी नदीले धार परिवर्तन गरी खेती योग्य जमीन कटान गर्ने भएकोले स्थायी व्यवस्थापन गर्नु पर्नेमा जोडदिएका छन् । नदीजन्य सामाग्रीको उत्खन्न, व्यवस्थापन तथा ओसारपसारबारे आयोजित सर्वपक्षिय छलफलमा सहभागी स्थानीयले यस्तो माग गरेका हुन् । खोलाले धार पविर्तन गरी खेती योग्य जमीनबाट बग्ने गरेका कारण नम्बरी जग्गा धनिपुर्जा भएका स्थानीय विस्थापित हुनु परेको र जग्गा नै नभएका मानिसहरु जग्गा धनी हुने अवस्था आएकाले तत्काल खोलालाई व्यवस्थीत गर्न भेलामा सहभागी वक्ताहरुको माग थियो ।

अर्जुधारा नगरपालिकामा यस वर्ष नदी उत्खन्नमा समस्या देखिएको छ । नगरले पटक पटक गरी तिन पटक टेन्डर आवाहन गर्दा पनि अहिलेसम्म ठेक्का लागेको छैन । खोलाजन्य उत्खनन् सामग्रीको राजश्वकै कारण पछिल्लो समय नगरका योजना तथा कार्यक्रमहरु अफ्ठयारो अवस्थामा रहेको अर्जुधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए ।

jhapa

नगरपालिकाले खोला ठेक्का लगाउने विषयमा राजनितिक दलसंग गत भदौ ८ गते छलफल गरि निर्णय गरेको थियो । सम्बन्धित जग्गा धनीसंग छलफल नगरी ठेक्का आवाहान गर्दा यो समस्या आएको नेपाली काग्रेसका नगर सभापति हेमराज खरेलले वताए । जिल्ला समन्व्य समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले भने खोलालाई व्यस्थीत गर्न योजना सञ्चालन गर्ने वताए । पोर्तेलले गिट्टी वालुवा उत्खनन्का लागि उपभोक्ता समिति बनाएर खोला जन्य राजस्व संकलन गर्ने जिम्मा दिने वताएका छन । छलफल कार्यक्रममा क्रसर व्यवसायी,आन्तरीक राजश्व कार्यालयका प्रतिनिधि,विभिन्न पार्टीका नेता तथा स्थानीय र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।