इटहरी : भाटभटेनी ग्रुपले इटहरीको लबिपुरमा बनाउदै गरेको भवनको नियम अनुसार नक्सा पास नगरेको भन्दै उपमहानगर विरुद्ध अख्तियारमा उजुरी परेको छ । इटहरी-१६ मा भन्दै गरेको भाटभटेनी सुपर मार्केटको भवन नक्सा पासको प्रक्रिया नै पुरा नगरी धमाधम बनाउन थालेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

भाटभटेनी जस्तो पूर्ण व्यापारिक भवन बनाउँदा उपमहानगरको नियमअनुसार उपप्रमुख संयोजक तथा स्ट्रक्चर इन्जिनियर समेत भएको निरीक्षण समितिले सिफारिसले मात्र नक्सा पास गर्नुपर्दछ । तर इटहरीमा बन्न लागेको भाटभटेनीको नक्सा पासको विषयमा आधिकारिक सिफारिस गर्ने समितिको संयोजकलाई नै जनाकारी छैन ।

छ किसिमको भवन बनाउँदा उपमहानगरको निरीक्षण समितिको सिफारिस अनिवार्य छ । इटहरीको भवन ऐन २०७५ को दफा २४ को उपदफा ३ अनुसार ुभवनको प्लिन्थ एरियाको क्षेत्रफल ५००० बर्गफिट र तीन तलाभन्दा बढी भएमा वा स्वास्थ्य वा शैक्षिक संस्था वा कम्प्लेक्स वा पूर्ण व्यापारिक भवन भएमा अनिवार्य रूपमा निरीक्षण एवं प्राविधिक समितिको सिफारिसमा नक्सा पास हुनेछ भन्ने पनि उल्लेख छ । उपमेयर नै संयोजक भएको निरीक्षण समितिमा प्रमुख प्रशासकीय अधिकृत लगायत स्ट्रक्चर इन्जिनियर समेत हुन्छ ।

bhatbhatani

उपमेयर "बाइपास" , नियम मिचेर भयो निर्णय

भाटभटेनीको भवनको निमार्ण शिलान्यास भाएको झन्डै एक वर्ष भयो । उपमहानगरमा भने आधिकारिक रूपमा गत जेठ महिनामा भाटभटेनीले नक्सा पासको लागि निवेदन दिएको देखिन्छ । एउटा इन्जिनियरले मात्र नक्सा पास गर्न नसक्ने प्रकृतिको भवन भएकाले सो निवेदन सम्बन्धित घर नक्सा महाशाखाले निरीक्षण समितिमा लग्नु पर्थ्यो ।

जेठमा आएको निवेदन ३ महिना सम्म पनि उपमेयरको टेबलमा पुगेन । जब उपमेयर आफ्नो इलाजको लागि भदौ ६ गते भारत गइन । ६ गते उपप्रमुख हिँड्ने बित्तिकै भदौ ८ गते नै भाटभटेनी लाई भवन ऐन मिच्दै निर्माण इजाजत दिइयो । इजाजत दिँदा सम्बन्धित १६ नम्बर वार्डको वडाध्यक्षलाई संयोजक बनाएर भाटभटेनीलाई इजाजत दिएको थियो । तर भवन निर्माण सम्बन्धी ऐनले भने उपप्रमुख बाहेक अन्यले सो समितिको संयोजक बन्न पाउने प्रावधान नै राखेको छैन ।

बाटोमै निर्माण सामग्री राखेर काम गर्दा जनताको गुनासो आएपछि उपप्रमुख गौतमले भाटभटेनि फायल मगाएपछि निर्माण अनुमति दिएको थाहा पाएको बताइन । आफ्नो अनुपस्थितिमा बिना अधिकार पास गरेको नक्सा अहिले गौतमलेनै राखेकी छिन ।  नियम विपरीत भएको बैठकमा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल, १६ नम्बर वार्ड अध्यक्ष दीपनारायण चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बिका कुमारी शाहको हस्ताक्षर छ ।