धरान: सरकारको नेपाल भ्रमण बर्ष २०२० को अभियानलाई पनि साथ दिने उद्देश्यले पर्यटकीयस्थल भेडेटार र धरानमा प्रदेशस्तरीय फोटो प्रर्दशनी हुने भएको छ ।

नेपाल फोटो पत्रकार महासंघ जिल्ला कार्यसमिति सुनसरीले दुई चरणमा पर्यटकीयस्थल भेडेटार र धरानमा प्रर्दशनी गर्न लागेको हो । प्रर्दशनीमा प्रदेश नं १ को करिब एक सय पर्यटकीय गन्तव्यहरुको परिचयसहितको फोटो राखिने आयोजकले जनाएको छ । पुष १५ देखि १७ गतेसम्म भेडेटार फुड फेस्टिवलको अवसरमा फोटो प्रर्दशनी गर्ने महासंघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यस्तै, दोस्रो प्रर्दशनी पुष २० गते धरान डेको अवसरमा आयोजना हुने ३ दिने कार्यक्रममा पनि हुने महासंघका जिल्ला अध्यक्ष विकास चाम्लिङले जानकारी दिए । ‘भेडेटार र धरान पछि प्रदेश १ को अन्य विभिन्न कार्यक्रमहरुमा पनि प्रर्दशनी हुनेछ,’उनले भने,‘समग्र फोटो पत्रकारहरुलाई एउटा छाता संगठनमा ल्याएर व्यावसायिक बनाउने पनि हाम्रो उद्देश्य हो ।’

प्रर्दशनीमा कार्यसमितिका पत्रकारसँगै अन्य फmोटोग्राफरहरुले खिचेको तस्बिर समावेश गरिने अध्यक्ष चाम्लिङले बताए । प्रर्दशनीको लागि फोटो संकलनको लागि नजिकको स्थलहरुको भ्रमण कार्यक्रम हुनेछ भने अन्य क्षेत्रको तस्बिरको लागि त्यसक्षेत्रका व्यक्तिहरुसँग पनि सहकार्य गरिने महासंघले जनाएको छ ।
फोटो प्रर्दशनीकै लागि ३ जना पत्रकारहरु साँगुरीगढी गाउँपालिकाको पर्यटकीय गन्तव्यहरुको फोटो खिच्न फोटो वाक कार्यक्रमअन्र्तगत गएको पनि महासंघका केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङले जानकारी दिए । उनले भने,‘तीन जना साथीहरुले सागुरीगढी, नमस्ते झरना, पाथीभारा, राजारानी, नाम्जे, तमोरको तस्बिर लिन फोटोवाकमा गएका छन् । महासंघले फोटो पत्रकारिताको विकास र फोटो पत्रकारहरुको हकहित,क्षमता वृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको हो ।’

प्रर्दशनीमा बिशेष प्रकृति र सँस्कृति झल्कने फोटोहरु राखिने आयोजकको भनाई छ । फोटो पत्रकार तथा फोटोग्राफरहरुसँग तस्बिर मागेर उत्कृष्ट फोटोहरु मात्र प्रर्दशनी राखिने अध्यक्ष चाम्लिङले बताए । ‘फोटो पत्रकारितालाई व्यवसायिक पनि बनाउनको लागि प्रर्दशनीमा राखिएको फोटोहरु किन्न चाहनेलाई बिक्री पनि गछौं,’उनले भने । प्रर्दशनीमा ३० जना भन्दा बढी फोटो पत्रकारहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

धरान उपमहानगरपालिकाअन्र्तगतको पर्यटन विकास समितिका सहसंयोजक किसोर थुलुङले भ्रमण बर्ष २०२० लाई पनि सफल बनाउन प्रर्दशनीमा प्रदेश १ को प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिकलगायत सबै पक्षलाई समेट्ने गरी फोटोहरु राख्न आग्रह गरे । उनले भने,‘प्रदेश १ लाई समग्ररुपमा फोटो प्रर्दशनीले उजागर गर्नुपर्छ ।’

सल्लाहकार समिति चयन

फोटो पत्रकार महासंघ सुनसरीले ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । महासंघको बैठकले सल्लाहकारहरुमा यात्रा थुलुङ, अमर खड्का, किसोर थुलुङ, किसोरकुमार कार्की, जनकऋर्षि चाम्लिङ, देवेन्द्र कार्की र रोहित राईलाई सल्लाहकारकोरुपमा चयन गरेको अध्यक्ष चाम्लिङले जानकारी दिए ।