झापा : च्याउ उत्पादक किसान सङ्घ नेपालले अनाधिकृत रुपमा भारतबाट आयात हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा शुरु गरेको छ ।

आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरे । देशभरका ३५ हजार च्याउ किसान सङ्गठित भएको संस्थाले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए ।

उनले यात्रामा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी, स्थानीय तहहरुसँग अन्तरक्रिया गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहजरुपमा उपलब्ध गराउन, च्याउ बीमा प्रभावकारी रुपमा लागू गराउन, पोष्ट हार्भेस्टसम्बन्धी उच्च ज्ञानको आदानप्रदान गर्नुका साथै किसानको समस्या पहिचान गरी समाधानको पहल गरिने बताए ।