झापा : झापाको दमक नगरपालिका वडा नं ७ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहिनहरुलाई स्थानीय सरकारले बसोबास गरिरहेको जग्गा खाली गर्न गरेको उर्दीप्रति प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ ।

सो पार्टीका तर्फबाट झापा जिल्ला सेक्रेटरी श्रीजंगले हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तीमा आफ्नो पार्टी विगतदेखिनै सर्वहारा सुकुम्बासीहरुको हक अधिकारका पक्षमा लड्दै आएको स्मरण गराउँदै निम्न वर्गीय परिवारको उठिबास लगाउने उद्देश्यले सरकारले गरेको त्यस्तो आदेशको प्रतिवाद गर्ने उल्लेख छ ।

विज्ञप्तीमा दमक नगरपालिकामा विगतमा समेत त्यस किसिमका समस्याका विषयमा आफ्नो पार्टीले सुकुम्बासीहरुको बसोबासको उचित बन्दोबस्ती मिलाएर समस्याका समाधान गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै पटक पटक त्यस्तो हर्कत नदोहोर्याउन पनि चेतावनी दिइएको छ ।

सो पार्टीले सुकुम्बासीहरुलाई जवरजस्त हटाउन खोजिए निर्ममतापूर्वक कडा प्रतिरोधमा उत्रिने समेत उल्लेख गरेको छ । यसैबीच नगरपालिकाले त्यस सुकुम्बासीको जमीनसहित पशु बजार नजिकका सडक छेउमा बस्दैआएका घरपरिवारले सरकारी जमिन अतिक्रमण गरि बस्दैआएको भन्दै त्यस जमीन खाली गर्न सूचित गरिआएको छ । ती जमीनमा घरटहरा लगायतका संरचना आफै नहटाए डोजर प्रयोग गरि खाली गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।