काठमाण्डौ : कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।

अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको थियो । हवाई जहाजमा ९८ जना यात्रु र चालक दलका सदस्य रहेको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा आठ जना बालबालिकासहित ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।

अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो । हवाई जहाजमा आगो लागेको कुनै समाचार प्राप्त भएको छैन । हवाई जहाज स्थानीय समयअनुसार ७ः२२ मा दुर्घटना भएको थियो । अधिकारीहरुका अनुसार हवाई जहाज दुर्घटनाको जाँच गर्न एउटा दल गठन गरिनेछ ।