धरान: प्रतिभाशाली धराने युवा गल्फर शुक्रबहादुर राई प्रो.टर्न भएका छन् । उनले काठमाण्डौंको गोकर्ण गल्फ कोर्षमा हालै सम्पन्न सुर्य नेपाल सेन्ट्रल ओपनमा पहिलो व्यवसायिक गल्फ खेलमा सहभागिता जनाएका थिए ।

पहिलो व्यवसायिक खेलमा नै शुक्र दोस्रो भएका छन् । प्रतियोगितामा दोस्रो हुदै उनले नगद ८० हजार पनि हात पारे । डिसेम्बर २३ देखि २६ सम्म आयोजित प्रतियोगितामा उनी नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठसँग १५ स्ट्रोकले पछि परे । चार दिनको खेलमा शिवरामले १४ अण्डर २७४ स्कोर खेलेर उपाधि हत्याए भने शुक्रले एक ओभर २८९ स्कोर गरेर दोस्रो भए । शिवरामले उपाधिसँगै नगद १ लाख २५ हजार जिते ।

sukra-centrel

शुक्र धरान १९ जिमी चोक निवासी हुन् । उनी हाल २१ बर्षका मात्र छन् । उमेर सानै भए पनि उनले गल्फमा धेरै उपलब्धीहरु हासिल गरिसकेका छन् । यसै बर्ष उनले भुटान च्याम्पियनसिपको उपाधि जितेका थिए भने हालै सम्पन्न दक्षिण एसियाली खेलकुद(साग)मा पनि टिम इभेन्टमा नेपालले स्वर्ण जित्दाका महत्वपुर्ण खेलाडी हुन् । घरेलु प्रतियोगिताहरुमा यसअघि उनले एमेच्योर खेलाडीकोरुपमा रहेर पनि व्यवसायिक स्पर्धाको उपाधिसमेत जितेर रेकर्ड नै बनाएका थिए । ‘शुक्र धरान र पुर्वको मात्र नभए, नेपालकै एक होनहार खेलाडी हुन्, उसले पाएको सफलताबाट हामी असाध्यै खुशी छौं, शब्दमा वयानै गर्न सकिन्न,’धरान गल्फ क्लबका सचिव जितेन्द्र राईले भने ।

sykra-golfer

शुक्र धरानको गल्फ कोर्षमा १३ बर्षको उमेरदेखि वल ब्वाइकोरुपमा प्रवेश गरेका थिए । विस्तारै गल्फ बुझ्न थालेका उनले १६ बर्षदेखि भनेर निरन्तर नेपाल गल्फ एशोसिएशनको उत्कृष्ट एमेच्योर खेलाडीकोरुपमा आफुलाई उभ्याएका थिए । उनले थुप्रै अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा पनि भाग लिए । भर्खर सेन्ट्रल ओपनमा दोस्रो भएका शुक्र अब आफ्नै घरेलु गल्फ कोर्ष निर्वाणामा पनि व्यवसायिक खेल खेल्ने छन् । यहाँ सुर्य नेपाल इष्टर्न ओपन आयोजनाको तयारी हुदैछ । घरेलु गल्फ कोर्षमा उनको उत्कृष्ट प्रर्दशन हुने गरेको छ । यहाँ उनले व्यवासायिक स्पर्धाको उपाधि जित्लान् ? यो भने हेर्न बाँकी नै छ ।