कजाखस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेर नजिकै रहेको एउटा भवनमा जोतिएको थियो। दुर्घटनापछि विमानमा आगो लागेन। विमानस्थलका अनुसार अधिकांश यात्रुहरू जीवितै बाहिर निस्किएका थिए।

कम्तीमा ६० जना मानिसलाई उद्धार गरी अस्पताल लगिएको छ। तीमध्ये बालबालिका पनि छन्। उडान नम्बर Z92100 भएको उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

कसरी भयो दुर्घटना ?

अल्माटी विमानस्थलका अनुसार विमानमा ९३ जना यात्रु र चालकदलका पाँच सदस्य थिए। दुर्घटनाको कारण थाहा हुन सकेको छैन। तर उक्त विमान उडेको केही छिनमै कङ्क्रिटको एउटा संरचनामा ठोकिएर एउटा दुईतले भवनमा जोतिएको थियो।

विमानको भग्नावशेषबाट निस्किँदा अँध्यारो भएको र हिउँ परेको केही यात्रुहरूले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन एउटा छानबिन समिति गठन हुने बताइएको छ। घटनास्थलनजिकै रहेका रोएटर्स समाचारसंस्थाका एक संवाददाताका अनुसार उक्त क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो। आपत्कालीन सेवाका कर्मचारीहरू उद्धारका लागि दुर्घटनास्थल पुगेका थिए।

विमानस्थलले जीवितै उद्धार गरी अस्पताल लगिएका ६० जनाको नाम प्रकाशित गरेको छ। कजाखस्तानको गृह मन्त्रालयले प्रकाशित गरेको यात्रुहरूको सूचीमा विमानमा पाँच बालबालिका र तीन शिशु भएको उल्लेख छ। टेङ्ग्री न्यूज वेबसाइटले माराल एर्मान नामक एक यात्रुलाई उद्धृत गर्दै उड्दै गर्दा विमान हल्लिएको जनाएको छ। आफूलाई पहिला विमान फेरि ओर्लिएको जस्तो लागेको उनले बताइन्।'विमानभित्र त्यति धेरै अशान्ति भएन,'उनले भनिन्,'कोही पनि चिच्याएन।'

राष्ट्रिपतिले दुर्घटनाका लागि जिम्मेवार सबैलाई कारबाही हुने बताएका छन् । उनका अनुसार विमानका कर्मचारीले नै बाहिर जाने ढोका खोलिदिएका थिए। आफूले पछि बल्ल विमान 'दुई टुक्रा' भएको थाहा पाएको उनले बताइन्। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये छ बालबालिका छन्।

उक्त दुर्घटनापछि बेक एअरले आफ्ना सबै उडान स्थगित गरेको छ।अल्माटी विमानस्थलमा अन्य उडान प्रभावित नभएको बताइएको छ। कजाखस्तानका राष्ट्रपति कसिम जोमार्त तोकायेभले मृतकका परिवारलाई समवेदना दिएका छन्। उनले दुर्घटनाका लागि जिम्मेवार सबैलाई कानुनबमोजिम कारबाही गरिने बताए।