राबात: मोरक्कोमा राजालाई अपमान गरेको अभियोगमा एक युट्युबरलाई चार वर्षको जेल सजाय तोकिएको छ ।

मोहमद सेक्काकी नामका युट्युबरले आफ्नो देशका राजा अपमानित हुने प्रकृतिको भिडियो सार्वजनिक गरेको भन्दै उनलाई जेल सजाय सुनाइएको हो । उनका वकिल मोहमद जियानका अनुसार सेक्काकीका युट्युब भिडियो सामान्यतः एक लाख भ्युजु पाउँछन् ।

उनै चर्चित युट्युबरलाई यही डिसेम्बरको सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीय मिडियाका अनुसार उनले भिडियो मार्फत मोरक्कोका जनतालाई 'गधा' भन्नुका साथै राजा मोहम्मद छैटौंलाई'अछुत' भनेका थिए ।

यसअघि मोरक्कोमै र्यापरलाई सरकारी अधिकारीलाई टिप्पणी गरेको भन्दै एक वर्षको जेल सजाय दिइएको छ । मोरक्कोमा पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारले गरेका निर्णयको मानवअधिकारकर्मीले विरोध गर्दैआएका छन् ।