धरान: नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची-कोसी ब्यूरो इञ्चार्ज उमा भुजेलसहित अन्य केही नेताहरु पुर्वबाट समातिएका छन् ।

पक्राउ पर्नेमा मोरङ इन्चार्ज नरेश चौलागाइँ र मेची-कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह पनि छन् । उनीहरुलाई प्रहरीले सुनसरी र मोरङको अलग अलग स्थानबाट पक्राउ गरेको बताइएको छ । उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरो संयुक्त टोलीले समातेको हो । केन्द्रीय सदस्य भुजेलको साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

भुजेलसहित नेताहरु पक्राउ गरिएको बारेमा प्रहरीले भने औपचारिक जानकारी दिएको छैन । १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी शेखर कोइरालाले विप्लवका नेताहरु पक्राउ गरिएको बारेमा जानकारी नभएको बताए । उनले भने,'मलाई यसबारेमा जानकारी आएको छैन ।'

पक्राउ परेकी नेतृ भुजेल तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक हुँदाकी महत्वपुर्ण सदस्य थिइन् । उनीसहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेपछि चर्चामा आएकी थिइन् । शान्तिप्रक्रिया पछि उनी अन्तरिम संसदमा सांसद पनि भएकी थिइन् ।