सुनसरी: हालै सम्पन्न दक्षिण एशियाली खेलकुद(साग) प्रतियोगितामा तेक्वान्दो खेलतर्फ स्वर्ण र रजत पदक बिजेता खेलाडीलाई गृहनगर इटहरीमा सम्मान गरिएको छ ।

शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी पदक विजेता शुसिला राई र अप्सरा कार्कीलाई गृहनगर इटहरीमा नागरिक समाजले सम्मान गरेको हो । तेक्वान्दो खेलाडीद्धयले इटहरीको गौरव बढाएकोले सम्मान गरिएको नागरिक समाज इटहरीले जनाएको छ । खेलको माध्ययमबाट बिश्व सामु नेपाललाई चिनाउन सफल भएको साथै खेलाडीद्धय इटहरीबासी पनि भएकोले गौरव महसुस गरेर सम्मान कार्यक्रमको आयोजना गरिएको नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले बाताए । कार्यक्रममा प्रशिक्षक कुमार गुरुङ र फडिन्द्र खड्कालाई पनि सम्मान गरिएको थियो ।

IMG_1818

सागमा तेक्वान्दोमा शुसिला राईले नेपालको लागि स्वर्ण पदक जितेकी थिइन् भने अप्सरा कार्कीले रजत पदक जितेकी थिइन् । खेलाडीद्धयले इटहरीको खेलकुदमा इतिहास रचेको भन्दै पञ्चेबाँजासहित गाडीमा नगर परिक्रमा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकुद नियम पनि बनाई सकेको कारण खेलको माध्यमबाट प्रदेशको बिकास गर्न सक्ने अवस्था रहेको बताए । साथै उनले खेलको माध्यमबाट नै नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा नेपालको पहिचान बनाउन सकिने धारणा राखे ।