धरान: हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत तेक्वान्दोमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल २ खेलाडीलाई धरानमा सम्मान गरिएको छ ।

सम्मानित हुने खेलाडीहरुमा धरानकी स्वस्तिका तामाङ र इटहरीको तरहरा निवासी सुशिला राई रहेका छन् । उनीहरुलाई धराने हाइकर्स टोलीले शनिबार धरानको घण्टाघरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । हाइकर्स टोलीले उनीहरुलाई जनही नगद ३ हजार ५ सय रूपैयाँ र सम्मान पत्रद्धारा सम्मान गरेको थियो ।

सम्मानित तथा पदक विजेता खेलाडी दुवै धराने हाईकर्सका नियमित हाईकर्स हुन् । साग प्रतियोगितामा स्वस्तिकाले पुम्से महिला टिममा १७ देखि २३ वर्ष उमेर समूहमा स्वर्ण पदक जित्न सफल भएकी थिइन् भने सुशिलाले पुम्से महिला टिमको २३ वर्षमाथिको समूहमा स्वर्ण पदक दिलाएकी थिइन् ।