धरान: नेत्र बिक्रम चन्द विप्लवकी केन्द्रीय सदस्य तथा मेची कोशी ब्युरो इञ्चार्ज उमा भुजेल र ब्युरो कार्यालय सचिव सुमन सिंह पौडेल हतियारसहित पक्राउ परेको बारे प्रहरीले सार्वजनिक गरेको छ ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले आज नेतृ भुजेल र पौडेल पक्राउबारे जानकारी दिएको हो । प्रहरीका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको गस्ती टोलीले बराहक्षेत्र एरियाबाट हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकी नेतृको खास घर गोरखा जिल्लाको अजिरकोट काफल डाँडा हो । १ नं प्रदेश प्रहरी कार्यालयका अनुसार भुजेल १ थान रिभल्बर र ५ राउण्ड गोलीसहित पक्राउ परेकी हुन् ।

स्कुटी चढेर आईरहेको बेला दुई जनामाथि चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार रहेकी नेतृ भुजेलको साथबाट हतियार वरामद भएको प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी शेखर कोइरालाले जानकारी दिएका छन् । प्रवक्ता कोइरालाका अनुसार भुजेलको साथबाट मेड इन युएसए लेखिएको रिभल्वर १ थान, गोली ५ थान र मोबाईल ५ थान बरामद गरिएको छ । साथै, स्कुटी चालक झापा दमक बेलडाँगीका ३० वर्षीय सुमन सिंह पौडेललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सुमन सिंह पार्टीको मेची कोशी ब्युरो कार्यालयका सचिव हुन् ।

ताप्लेजुङमा पनि पेस्तोल र बिष्फोटक पदार्थ सहित एक पक्राउ

प्रहरीले ताप्लेजुङ जिल्लाबाट हतियार र विष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेतलाई १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस, रिमोट कन्ट्रोल सेट, ३ थान, ब्याट्रि सेट २ थान , जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ । हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।