धरान: यही पुष १५ गते देखी भेडेटारमा हुन लागेको ८ औँ भेडेटार फुड फेस्टिभलमा हुन लागेको प्रदेशस्तरीय फोटो प्रर्दशनीको प्रचारको लागि आइतबार धरानमा मैत्रीपुर्ण बास्केटवल खेल सम्पन्न भएको छ ।

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको आयोजनामा हुन लागेको फोटो प्रर्दशनीको प्रचारको लागि मैत्रीपुर्ण बास्केटवल खेल भएको हो । धरान बास्केटबल संघको आयोजना र सुनसरी जिल्ला बास्केटबल संघको सहयोगमा धरान १६ रंगशालास्थित मिनी कर्भड हलमा मैत्रीपुर्ण खेल भएको हो ।

खेलमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले भेट्रान बास्केटबलको टिमलाई ३८(२७ को अन्तरले पराजित गर्यो । बास्केटबलका प्रशिक्षक विकास चाम्लिङको नेतृत्वमा पत्रकार टोलीले पहिलो, तेस्रो र चौथो क्वार्टरमा अग्रता लिदै विजयी बनेको हो । खेल पश्चात बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरज लामाले पत्रकार टोलीलाई मायाको चिनो प्रदान गरेका थिए । खेलमा बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदी, फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिङ लगायतको उपस्थिती रहेको थियो ।

मायाको चिनो ग्रहण गर्दै महासंघ सुनसरीका सल्लाहकार जनकऋषि चाम्लिङले फोटो महासंघ सुनसरीको पहिलो कार्यका रूपमा हुन गइरहेको प्रर्दशनीमा सबैले सहयोग गर्न आग्रह गरेका थिए । प्रदेश नम्बर १ को पर्यटकिय स्थलहरूको प्रवर्द्धन गर्दै नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल बनाउने उद्देश्यले भेडेटारमा फोटो प्रर्दशनी हुन लागेको हो । भेडेटार पछि धरानमा पनि पुष १८ देखि २० गते सम्म हुने धरान डे उत्सवमा पनि फोटो प्रर्दशनी हुनेछ ।