धरान: धरान सहर स्थापना दिवस अर्थात धरान डेलाई यसपाली तीन दिन उत्सवकोरुपमा मनाउने तयारी गरिएको छ ।

धरान उपमहानगरपालिकाले यही पुष १८, १९ र २० गते धरान डेलाई उत्सवकोरुपम मनाउने तयारी गरिएको हो । पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डेकोरुपमा लिइने गरिन्छ । यसपाली नेपाल भ्रमण बर्ष २०२० लाई पनि समेटेर तीन दिने धरान डे उत्सव मनाउन लागिएको हो । धरान डे आयोजना गर्न मेयर तिलक राई संयोजक र उपमेयर मञ्जु भण्डारी सुवेदी सहसंयोजक रहेको मुल समारोह समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु पनि गठन गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

धरान डे पुष १८, १९ र २० गते पब्लिक उच्च मावि चतरालइनको खेल मैदानमा आयोजना हुनेछ । धरान डेको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ भने २० गते समापन समारोह मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने मेय तिलक राईले जानकारी दिए । धरान डेको अवसरमा ३ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिनेछ । धरान डे उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ ।

तीन दिनसम्म हरेक साँझ उत्सवस्थलमा धरानका कलाकारहरुले गीत, संगीत प्रस्तुत गर्नेछन् भने धरानका जनतालाई साँझमा घर घरमा दिपावली गर्न आह्वान गरिनेछ । ‘धरान डेलाई पनि पर्यटनसँग, नेपाल भ्रमण बर्ष २०२० सँग पनि जोडेर मनाउन लागेका छौं,’मेयर राईले भने,‘आम धराने जनताको सहभागिता, सरोकारवालाहरुको सहभागितामा आयोजना हुनेछ ।’ धरान डेको बिशेष दिन पुष २० गते धरानमा स्थानीय विदा दिइने उपमहानगरले जनाएको छ ।

धरान डे उत्सवस्थल पब्लिक उच्चमाविको खेलमैदानमा शैक्षिक प्रर्दशनी, स्वास्थ्य प्रर्दशनी, चित्रकला र फोटो प्रर्दशनी, साहसिक खेलकुख प्रर्दशनी, जातीय खाना प्रर्दशनी तथा बिक्री, धरानको स्थानीय कृषि, घरेल तथा हस्तकलाका सामानहरुको उत्पादन प्रर्दशनी तथा बिक्रीस्थल पनि रहनेछ । व्यवसायिक होटलहरुको लागि १५ वटा स्टलबाहेक अन्य सबै उपमहानगरपालिकाले निःशुल्क उपलब्ध गराउनेछ । ती स्टलहरुमा सुलभ मुल्यमा उपभोक्ताहरुलाई खाद्यान्न उपलब्ध गराउनुपर्ने मेयर राईले बताए । ‘होटलहरुलाई पनि स्टल बनाउदा लाग्ने खर्च मात्र लिन्छौं, अरुलाई निःशुल्क नै स्टल हुन्छ । बाहिर भन्दा १५ प्रतिशत कम मुल्यमा बेच्नुस् भनेका छौं,’उनले भने,‘जातीय संघसंस्थाहरुलाई स्टेज उपलब्ध गराउछौं, त्यहाँ उहाँहरुले मौलिक सँस्कृति पस्कनेछन् ।’

तीन दिन के के हुन्छ ?

dharan-ghantaghar

धरान डे उत्सवको उद्घाटनअघि पब्लिक स्कुलबाट वृहत र्याली निकालिनेछ । सोही दिन घुम्न जाउँ धरान भन्ने ब्यानरसहित मोटरसाइकल र्याली शुरुवात हुनेछ । युवाहरु मोटरसाइकलमा पुर्वको विभिन्न सहर यात्रामा जानेछन् । उद्घाटन समारोहकै क्रममा भ्रमण बर्ष २०२० को सप्ताहव्यापी प्याराग्लाइडिङको उद्घाटन पनि प्रदेश १ मा यहीबाट हुनेछ । यो कार्यक्रम कर्णाली प्रदेशमा पुगेर टुंगिने सुचना, पर्यटन तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार दोस्रो दिन शनिबार धरान रन कार्यक्रम यलम्बर पार्कदेखि पब्लिक हाईस्कुलसम्म आयोजना हुनेछ भने दिउँसो धरानको पर्यटन प्रर्वद्धनको सम्भावना र आगामी कदम बिषयक कार्यपत्रमाथि छलफल हुनेछ । साथै, पब्लिक हाइस्कुलमा पुर्वीय लोकभाकाको जुहारी कार्यक्रम हुनेछ । तेस्रो दिन वृहत साइकल र्याली आयोजना हुनेछ भने गन्तव्य पैदल यात्रा पनि हुनेछ । यस्तै, सोही दिन वृक्षरोपण, प्रदेशस्तरीय साहित्यिक कार्यक्रम पनि हुने खतिवडाले जानकारी दिए ।

दिउँसो मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा धरान डे बिशेष एवं समापन समारोहमा जातीय साँस्कृतिक प्रस्तुती, पुष्पवृष्टि, खेलकुदको प्रस्तुती हुनेछ भने धरानलाई विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु, सागका पदक विजेता खेलाडीहरुलाई सम्मान गरिने उपमहानगरपालिकाले जनाएको छ । यस्तै, क्षेत्रगतरुपमा धरानको सद्भावना दुत पनि घोषणा गरिनेछ । तीनै दिन राती ९ बजेसम्म धरान डे उत्सवस्थलमा धरानका कलाकारहरुको गीत, संगीतको प्रस्तुती हुनेछ भने धरानबासीहरुलाई तीन दिन नै घरघरमा दिपावली गर्न पनि आग्रह गरिने खतिवडाले जानकारी दिए ।