सुनसरी : ईलाका प्रहरी कार्यालय दुहबीको नवनिर्मित कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरी समुद्घाटन गरिएको छ ।

आज एक विशेष कार्यक्रमको आयोजना गरि १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय दुहबीको नवनिर्मित कार्यालय भवनको शिलालेख अनावरण गरी समुद्घाटन गरेको हो । भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अहिलेको अवस्थामा शिक्षा, स्वास्थ्य र शुरक्षा आधारभुत आवश्यकता भई सकेकोले सुरक्षा व्यवस्था गर्ने आधारभुत आवश्यकता र प्रहरीको बाँस स्थानलाई परिपूर्ति गर्ने सन्दर्भमा सुन्दर संरचनाहरुको धमाधम निर्माण भईरहेको बताए । उनले स्थानिय शान्ती सुरक्षामा नागरिकको अहम भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ति सुरक्षा सुदृढ हुने विश्वास समेत व्यक्त गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय कृयाकलापहरुलाई रोक्न नेपाल प्रहरीले गाउँ बस्तीहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको हुँदा यसमा स्थानीयहरुको सहयोग पनि उत्तिकै खाँचो पर्ने भएकोले कुनै पनि घटनाहरुको बारेमा प्रहरीलाई सूचना दिन कसैले पनि नहिच्किच्याउन समेत उनले आग्रह गरे । नागरिकहरुले प्रहरी प्रति आशा र भरोसा राख्ने हुँदा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी अझ बढी व्यवसायीक र क्रियाशील भएर अघि बढ्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए । उनले भवन निर्माणमा सहयोग गर्नुहुने महानुभावहरु तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार, प्रशंसा पत्र तथा कदरपत्र समेत वितरण गरे ।

भवन उद्घाटन कार्यक्रममा दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले शुभकामना मन्तब्य राख्दै पछिल्लो समयमा प्रहरीबाट भएका काम कार्बाहीहरुको प्रशंसा गरे भने शान्ति सुरक्षाको सवालमा नगरपालिकाको तर्फबाट गर्नु पर्ने जस्तो सुकै सहयोग गर्न पनि नगरपालिका प्रतिबद्ध रहेको बताए । कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल २ करोड ६८ लाख २१ हजार ७ सय ४१ को लागतमा २१ कोठा भएको साढे दुई तले पक्की प्रहरी भवनको निर्माण गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले उपस्थित सबैमा तथा भवन निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानिय जनप्रतिनिधीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, समाजसेवी, स्थानिय तथा विधार्थीहरुको उपस्थित रहेको थियो ।