पथरी : पथरी शनिश्चरे नगरलाई पक्की सडक सञ्जालले जोडने कसीका रुपमा रहेको शनिश्चरे बजार-कुसेचौरी-मङ्गलबारे-सोमबारे-शिरिसेडाँडा-वितिंग-किराँती चौक हुँदै विरेन्द्रनगर जोडने कालोपत्रे सडक शिलान्यास गरिएको छ ।

सोमबार प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सो सडकको सिलान्यास गरेका हुन् । पथरीशनिश्चरे ८ मा भएको कार्यक्रममा बोल्दै आङ्वोले देश संघिय शासनमा गएपछि विकासले फड्को मारेको बताए । प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा कम्तीमा एक एक वटा १० किलोमिटर सम्मका सडक निर्माण कार्य सुरु गरिएको बताए । प्रदेशमा पुर्वाधार निर्माण संगै शहरी विकासको गुरुयोजना निर्माण क्रममा रहेको बताए । १ सय ३७ वटै स्थानीय निकायलाई पक्की सडक सञ्जालले जोड्ने गरी १० वर्र्षीय सडक निर्माण कार्यक्रमका लागि ३ खर्ब रुपियाँको गुरुयोजना बनिसकेको उल्लेख गर्दै उनले आर्थिक वर्ष ०७५/०७६ शिलान्यासको वर्ष हुने र आर्थिक वर्ष ०७७/०७८ उद्घाटनको वर्ष हुने दाबी गरे ।

सो कार्यक्रममा प्रदेशसभा सदस्यत्रय सुयर्माराज राई, कृष्णकुमारी राई र शेखरचन्द्र थापा, नगर प्रमुख दिलिप कुमार राई लगायतले बोलेका थिए ।

नगरको विकासको मेरुदण्डका रुपमा हेरिएको सो सडक निर्माण पछि ग्रामिण भेगका जनताले थप राहत अनुभव गर्ने छन् । यो सडकले ग्रामिण भेगको पुर्व र पश्चिम क्षेत्र जोडने छ । पथरी शनिश्चरेका ४ ठुला सडक उत्तर दक्षीणका भएको भए पनि यो सडकले नगरका पथरी बजार बाहेकका साना बजारलाई जोडने छ । पथरीमा पथरी शनिश्चरे केचना सडक पथरी वुद्धचौक किर्तीपुर सडक पथरी वुद्धचौक हसहन्द सडक र पथरी आइतवारे सुन्दरी चौक सडक कालोपत्रे रहेका छन् ।

श्रेष्ठ खुस्बु जेवी कन्ट्रक्सनले निर्माण जिम्मा पाएको सो सडक २ वर्ष भित्रमा जिम्मा लगाउने सहमति भएको छ । २७ करोड ८२ लाख रुपियाँको लागतमा निर्माण हुने सडक बीचबाट दुबै तर्फ साडे ७ मिटरको हुनेछ । सडकले नगरका वार्ड नं ८,४,५,३,७ र २ न वडालाई जोड्ने छ ।