झापा: झापाको बिर्तामोड नगरपालिका ६ का २४ बर्षीय रुपेश बिश्वकर्मा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

उनलाई प्रहरीले झापाको रत्न सुपरमार्केटबाट ११३ ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । सुपरमार्केटमा लागुऔषधको करोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पक्राउ गरेको हो । बिश्वकर्माको साथबाट तत्काल प्रहरीले १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।

उनको साथबाट लागुऔषध बरामद भएसंगै उनी सुत्ने कोठामा समेत गएर प्रहरीले खानतलासी गर्दा कोठामा रहेको सामसुंग पावर बैंकभित्र लुकाएर राखेको ११२ ग्राम ४३० मिलिग्राम थप ब्राउनसुगर बरामद भएको थियो । ठुलो परिणाम ब्राउन सुगरसहित पक्राउ परेका बिश्वकर्माको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।