धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको जग बसाउने काम नेपाल भ्रमण बर्ष २०२० बाट हुने बताएका छन् ।

पर्यटकीयस्थल भेडेटारमा आयोजित ८ आंै भेडेटार फुड फेस्टिवलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो धारणा व्यक्त गरेका हुन् । मुलुक शान्तिको युगमा प्रवेश गरेपछि, राजरानीतिक स्थायित्व भएपछि र देशले सुशासन, समृद्धिको बाटो समातेपछि सरकारले भ्रमण बर्ष घोषणा गरेको मुख्यमन्त्री राईले बताए । ‘नेपालको विकास र समृद्धिको जग बसाउन नेपाल भ्रमण बर्ष २०२० आह्वान भएको हो, सिंगो नेपाललाई संसारभरि चिनाउन भ्रमण बर्ष घोषणा गरिएको हो,’मुख्यमन्त्री राईले भने,‘संसारभरिका नागरिकहरुलाई सरकारले नेपालको भ्रमण गर्न आह्वान गरेको छ, यतिबेला संसारको ध्यान नेपालमा केन्द्रीत छ ।’

सिंगो मुलुक पर्यटनमय भएको उल्लेख गर्दै मुख्यमन्त्र राईले भोली बुधबार काठमाण्डौं र सातै प्रदेशबाट एकैपटक नेपाल भ्रमण बर्ष २०२०को शुभराम्भ हुने पनि जानकारी दिए । ‘यो बर्ष सुख र समृद्धिको बर्ष हुनेछ । सुख र समृद्धि हासिल गर्न, देश विकासको अभियानमा जोडिन सम्पुर्ण नेपालीहरुलाई यो बर्षले प्रेरित गर्नेछ,’मुख्यमन्त्री राईले भने,‘भ्रमण बर्ष सम्पुर्ण नेपालीहरुको लागि हो, २० लाख पर्यटक भित्र्याउने घोषणासहित भोलीबाट शुरु हुदैछ, सफल बनाउन सम्पुर्णमा आह्वान गर्न चाहन्छु ।’

नेपाल जस्तो अर्को मुलुक संसारमा नभएको भन्दै मुख्यमन्त्री राईले आफ्नै मुलुकलाई पहिला घुम्न र बुझन पनि आग्रह गरे । प्राकृतिक, साँस्कृतिक, धार्मिक विविधताले नेपाल आकर्षक र सुन्दर रहेको भन्दै मुख्यमन्त्री राईले भने,‘अमेरिका सिंगापुर, युरोप सबै यही छ । हामीले पहिला देशलाई राम्ररी घुम्न र बुझ्नुपर्छ, र विदेशीहरुलाई बुभलाउनुपर्छ । नेपाल भ्रमण बर्षको उद्देश्य पनि यही हो ।’

IMG_2935

हिमाल, पहाड र तराईको संगम, १२५ जातिको बसोबास र १२३ भन्दा बढी भाषाभाषी बोलिने मुलुक भएकोले नेपालमा विश्वको ध्यान केन्द्रीत भएको मुख्यमन्त्री राईले बताए । उनले भने,‘संसारको अग्लो हिमाल हेर्न, हिमाल चढ्न नेपाल नै आउनुपर्छ । भाषिक विविधता बुझ्न, अध्ययन गर्न पनि नेपालमै आउनुपर्छ ।’ प्रदेश १ लाई आगामी १० बर्षमा विश्वकै आकर्षक पर्यटकीय गन्तव्यकोरुपमा चिनाउने लक्ष्य लिएर पर्यटकीय गुरुयोजना बनाएर प्रदेश सरकार अघि बढेको बताए ।

उनले प्रदेश सरकारले १ अर्ब ५० करोड बजेट विनियोजन गरेर पर्यटन पुर्वाधार तयार गर्ने पनि बताए । ‘नेपाल सरकारको सय गन्तव्यमध्ये १६ वटा गन्तव्य यो प्रदेशमा छ, त्यो बाहेक पनि अन्य गन्तव्यहरु पहिचान गरेर सबै पुर्वाधारहरुले जोड्नेछौं । भेडेटार जस्तो पर्यटकीयग गन्तव्यहरुलाई सजाएर धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन चाहन्छौं,’मुख्यमन्त्री राईले भने ।

उद्घाटन समारोहलाई प्रदेश सांसद निरन राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष भुवनजंग याक्खा, नेष्टका अध्यक्ष नरबहादुर चेम्जोङ, होटल एशोसिएशनका पुर्वअध्यक्ष लिलाराज लावतीलगायतले पनि सम्बोधन गरेका थिए । सोही समारोहमा मुर्तिकार रोजन राई र धनकुटाका पत्रकार कविराज घिमिरेलाई सम्मान गरिएको थियो ।