धरान: १ नं प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जनप्रतिनिधिहरुले बोलेर नभै जनअपेक्षा अनुरुप काम गरेर जनताको विश्वास जित्नु पर्ने बताएका छन् ।

आज निराजन बस्ति, हर्दिया, ढाडे, तृलनपुर हुँदै कन्यापोखरी जोड्ने सडकको देविगाउँमा शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले धरान–कन्यापोखरी सडकले धरान ४ को विकट पहाडी भू–भागका जनताको मुहारमा खुशी छाउने पनि विश्वास व्यक्त गरे । यो सडक सडक निर्माण सम्पन्न भए सँगै धरान नेपालको पुर्वी पहाडी जिल्लाहरु ईलाम, पाँचथर तथा ताप्लेजुङ्गसँग सिधा जोडिने पनि बताए । सरकारले भेडेटारबाट पाँचथरको रवि जोड्ने सडक योजना पनि शुरुवात गरिसकेको छ । कन्यापोखरी भेडेटारको नाम्जेदेखि केही पुर्व क्षेत्रमा पर्छ ।

silyanyas1

धरान कन्यापोखरी सडक प्रदेश सरकारले बहुबर्षीय योजना अन्तर्गत करिब ३९ करोडको लागतमा निर्माण गर्न ठेक्का लागिसकेको छ । यो सडक निर्माणको ठेक्का गजुरमुखी लुम्बिनी जेभिले पाएको छ । निर्माण कम्पनीका प्रतिनिधि विदुर गौतमले तोकिएको अवधी भित्र नै गुणस्तरिय सडक निमौण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन ईञ्जिनियर शुसिल श्रेष्ठको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, ४ नं. वडा अध्यक्ष मानबहादुर राई, १५ नं. वडा अध्यक्ष नरेश कुमार ईवारामले पनि मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले यो सडक निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्दै सडक निर्माणको लागि भुमिका निर्वाह गरेकोमा सभामुख भण्डारीप्रति आभार पनि व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।