धरान: २० औं अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप यहि पुष १९ गतेदेखि शनिबारदेखि शुरु हुने भएको छ ।

गोलुधी क्लबले आज बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता धरान १६ स्थित रंगशालामा आगामी माघ ४ गतेसम्म हुने जानकारी दिएको छ । प्रतियोगितामा पहिलो पटक धरानको सबै वडाले सहभागिता जनाउन लागेको अध्यक्ष देशकुमार राईले जानकारी दिए । यसअघिका सँस्करणमा कहिले पनि धरानको सबै वडाले भाग लिएको थिएन । 'यसपाली धरानको सबै २० वटै वडाले भाग लिदैछ, यो भन्दा अघि कहिल्यै पनि सबै वडाले भाग लिएको थिएन,'अध्यक्ष राईले भने । स्थानीयस्तरबाटै प्रतिभावान खेलाडीहरु जन्माउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । यो प्रतियोगिताले धरानमा नयाँ क्षमतावान खेलाडीहरुको पहिचान हुने उनको भनाई थियो ।

प्रतियोगिताको विजेताले रनिङ कपसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले ११ हजार पाउनेछ भने उदयीमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले भने ७ हजार ५ सय पाउनेछ । प्रतियोगिताको उद्घाटन खेल धरानको वडा नं ३ र वडा नं ५ बीच हुनेछ । उद्घाटन समारोहमा नपाल भ्रमण वर्ष २०२० र गोधुली क्लबको झण्डा फहराएर ३० भन्दा बढी प्याराग्लाइडिङ आकाशमा उड्ने पनि क्लबले जानकारी दिएको छ ।