धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाडामा रहेको विभिन्न व्यवसायीले बुझाउदै आएको विजुलीको शुल्कमा घोटाला भएको आशंका गरिएको छ ।

प्रतिष्ठानको इलेक्ट्रिकल विभागका अधिकृत तेजनारायण साहले झण्डै ७ महिनादेखि आफैले भाडावाला व्यवसायीहरुबाट विजुलीको शुल्कवापत रकम बुझ्दै आएका थिए । उनले त्यसवापत व्यवसायीहरुलाई भौचर दिएपनि त्यसमा पैसा बुझ्नेको नाम अर्कै उल्लेख भएको र आर्थिक कारोबार इलेक्ट्रिकल विभागबाट गर्न नमिल्ने खुलेपछि घोटाला भएको आशंका गरिएको छ । करोबारको अधिकार नै नभएको व्यक्तिलाई आफुहरुले पैसा बुझाएको खुलेपछि केही व्यवसायीहरुले आज बिहिबार प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाललाई लिखितरुपमा निवेदन नै दिएका छन् ।

प्रतिष्ठानमा सञ्चालनमा रहेको टेक्सन भोजनालय, स्टार्फ क्याण्टिन र मउण्ट नेपालले उपकुलपतिसमक्ष निवेदन दर्ता गराएका छन् । उनीहरुले अधिकृत साहले विद्युत वापतको रकम यही इलेक्ट्रीक सेक्सन अफिसमा बुझाउने भनि पटक पटक फोन मार्फत जानकारी गराएकोले विजुलीको विलवापतको रकम आफुहरुले साहलाई नै बुझाउदै आइरहेको उल्लेख गरेका छन् । निवेदकहरुले रकम बुझाएको भौचर पनि प्रतिष्ठानमा निवेदनसँगै बुझाएका छन् ।

bpkihs-letter

व्यवसायीहरुले अधिकृत साहलाई पैसा बुझाए पनि उनीहरुलाई दिइएको भौचरमा भने एम.के.राईले पैसा बुझेको उल्लेख छ । साथै, एम.के.राईकै हस्ताक्षर पनि छ । तर, इलेक्ट्रिकल शाखामा एम.के.राई नाम गरेका कोही पनि कर्मचारी छैनन् । इलेक्ट्रिकल विभाग प्रमुख नेत्र खड्काले पनि उक्त नाम गरेको कोही व्यक्ति नभएको बताए । साथै, यो घटनाबारे प्रतिष्ठानले आन्तरिक छानबिन गरिरहेकोले आफुले केही बोल्न नमिल्ने बताए ।

प्रतिष्ठानका उपकुलपति डा.खनालले पनि आज भर्खर यस बिषयमा थाह भएकोले विस्तृत बुझ्न बाँकी नै भएको बताए । केही दिनभित्रै वास्तविकता बाहिर आउने डा.खनालले बताए । इलेक्ट्रिकल सेक्सनका अधिकृत साहले भने आफुले त्यसरी पैसा लिन नमिल्ने र नलिएको पनि दाबी गरे । ‘मैले पैसा लिनै मिल्दैन, लिएको पनि छैन । मलाई फसाउने काम हुदैछ,’उनले भने ।

bpkihs payment recev