पाँचथर : जिल्लाको फिदिम नगरपालिकामा ‘महिनावारी हाम्रो भाग्यवारी’ भन्ने नाराका साथ एक दिने महिनावारी मेला सम्पन्न भएको छ ।

बिहीबार महिलाहरुमा हुने महिनावारीप्रतिको अन्धविश्वासलाई हटाउने उद्देश्यले ‘परिवर्तनको सुरुवात’ नामक संस्थाले मेलाको आयोजना गरेको हो । महिनावारी हुनु अभिशाप नभइ भाग्य हो भन्ने सन्देश फैलाउन मेलाको आयोजना गरिएको संस्थाकी अध्यक्ष विविशा बुढाथोकीले बताईन् ।

मेलामा महिलामा हुने महिनावारीसँग सम्बन्धित नौ वटा स्टल राखिएको थियो । मेलामा सहभागीहरुलाई महिनावारीको लक्षण, महिनावारी के हो ? महिनावारी किन र कसरी हुन्छ ? महिनावारी भएको बेला के खाने र महिलाको स्वास्थ्यको बारेमा जानकारी दिइएको थियो ।

महिनावारी भएको बेला प्याड प्रयोग गर्ने बारेमा समेत जानकारी दिइएको संस्थाकी सचिव दीक्षा थपलियाले बताईन् । घर परिवारका सबै सदस्यहरुलाई महिनावारीको बारेमा जानकारी भएमात्र महिनावारीप्रतिको अन्धविश्वास हट्ने मान्यताको साथ मेलामा युवायुवती, वृद्धवृद्धा र विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । -उज्यालोबाट