धरान: आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी(कृष्णदास)लाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार उच्च अदालतमा ७३ नम्बर निवेदन दर्ता गराएका थिए । सोही निवेदनको सुनुवाई गर्दै आज शुक्रबार उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । उच्च अदालतका मुख्य न्यायाधिश तिलप्रसाद श्रेष्ठको इजलाशले यस्तो आदेश गरेको हो । उच्च अदालतका रष्ट्रिार जितेन्द्रबाबु थपलियाले शुक्रबार मुख्यन्यायाधीश श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको जानकारी दिए ।

गएको सोमबार जिल्ला अदालतका न्यायाधिश राधाकृष्ण उप्रेतीले बलात्कार जस्तो गम्भीर अभियोग लागेका कृष्णदासलाई ३ लाख धरौटी लिएर छाड्ने आदेश दिएका थिए । यो आदेशको सर्वत्र निन्दा गरिएको छ । गएको कार्तिक ४ गते कृष्णदासले एक महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेको छ । सोही अभियोगमा उनी गत मंसिर १६ गते पक्राउ परेका थिए ।