इटहरी: इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले राजिनामा दिएका छन् । उपप्रमुखले मुद्दा हाल्ने धम्की दिएको भन्दै इन्जिनियर दाहालले राजिनामा दिएका हुन् ।

उपप्रमुखले आफ्नो कार्यसम्पादनमा गम्भीर मतभेद राखेको भन्दै राजिनामा निबेदनमा उल्लेख गरेका छन् । केहि समय अगाडी इटहरीको भाटभटेनीको भवनमा कानुनलाई छल्दै इन्जिनियरले निर्माण अनुमती दिएको विषय बाहिर आएको थियो । इटहरीको भवन ऐन २०७५ को दफा २४ मा उपमेयर संयोजक भएको निरीक्षण समितिमा प्रमुख प्रशासकीय अधिकृत लगायत स्ट्रक्चर इन्जिनियर समेत हुन्छ ।

तर भाटभटेनी निर्माण नक्सापासको सिफारिस दिने समितिको संयोजक अर्थात् उपप्रमुख लक्ष्मी गौतमलाई थाहै नदिइ भाटभटेनीलाइ नक्सापासको अनुमति दिएको आरोप इन्जिनियरलाइ थियो । इजाजत दिँदा सम्बन्धित १६ नम्बर वडाको वडाध्यक्षलाई संयोजक बनाएर भाटभटेनीलाई इजाजत दिएको थियो । तर भवन निर्माण सम्बन्धी ऐनले भने उपप्रमुख बाहेक अन्यले सो समितिको संयोजक बन्न पाउने प्रावधान नै राखेको छैन ।

बाटोमै निर्माण सामग्री राखेर काम गर्दा जनताको गुनासो आएपछि उपप्रमुख गौतमले भाटभटेनी फायल मगाएपछि मात्र निर्माण अनुमति दिएको थाहा पाएको बताउदै आएकी छिन् । आफ्नो अनुपस्थितिमा बिना अधिकार पास गरेको नक्सा अहिले गौतमलेनै राखेकी छिन । नियम विपरीत भएको बैठकमा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालको सकृयतामा भाटभटेनीलाई इजाजत दिदा १६ नम्बर वडाध्यक्ष दीपनारायण चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बिका कुमारी शाहको हस्ताक्षर थियो ।