धरान: प्रदेश नं १ लाई सडक बालबालिकामुक्त प्रदेश बनाउने अभियान शुक्रबारदेखि शुरुवात भएको छ ।

तीनै तहको सरकारले धरानको सडकमा वेवारिस एवं आश्रित ३० जनाको उद्दार गर्दै यो अभियानको शुरुवात गरेको हो । उद्दार गरिएका ३० मध्ये केही बृद्ध र महिला पनि थिए । उनीहरुलाई पनि आश्रमहरुमा लगिने सरकारले जनाएको छ । संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे, धरान उपमहानगरका मेयर तिलक राईको उपस्थितिमा धरानका सडक बालबालिकाहरुको उद्दार गरिएको थियो । उपत्यकाबाहिर सडक बालबालिका अत्यधिक भएको सहरमा धरान पनि हो ।

sadak-balbalika1

चालु आर्थिक बर्षमा प्रदेश सरकारले प्रदेशलाई सडक बालबालिका मुक्त प्रदेश बनाउने घोषणा गरेको थियो । केन्द्रीय सरकारले पनि सडकलाई वेवारिसे मानव तथा सडक बालबालिकामुक्त बनाउने लक्ष्य राखेको छ । सडक बालबालिकालाई उद्दार गर्नुअघि उपमहानगरपालिकामा आयोजित छलफलमा मन्त्री गुरुङले बालबालिकाहरुलाई सडकमा आउन नदिन बिशेष योजना र कार्यक्रम ल्याउने बताए । बालबालिकाहरु सडकमा आउने कारण पत्ता लगाएर आउनै नदिन सरकारले योजना कार्यान्वयन गर्ने उनको भनाई थियो ।

sadak-bal5

यस्तै, प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेले १ नं प्रदेशको सबै सहर र सडकबाट बालबालिकाहरुलाई उद्दार गर्ने बताए । उद्दार गरिएका बालबालिकाहरुलाई पुर्नस्थापना र पुर्नबास कार्यक्रम सरकारले लागु गरेर पुनः सडकमा आउन नदिने पनि उनले बताए । धरानका मेयर तिलक राईले स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउदै बालबालिका र उनका परिवारमा खुशी छाउने वातावरण बन्ने अपेक्षा व्यक्त गरे । राष्ट्रिय बालअधिकार परिषदका प्रशासकीय प्रमुख कृष्णप्रसाद भुषालले उद्दार गरिएका सडक बालबालिकाको अवस्था हेरेर वालगृहमा पुर्नस्थापनामा लगिने बताए ।

sadak-balbalika3