धरान : कोशी राजमार्गमा पर्ने धरान-५, महेन्द्रपथ सडक पेटीमा कपडा सिलाउने मेशिनसँग एक वृद्ध भेटिन्छन् । उमेरले ९६ बर्ष पुगिसकेका उनी हुन्, मेहेरमान सुन्दास । यो वृद्ध उमेरमा पनि उनी सडक पेटीमा कपडा सिलाएर आफ्नो परिवारको गुजारा गरिरहेका छन् ।

उमेरले बुढ्यौली भए पनि कामले भने उनी तन्नेरी भन्दा कम छैनन् । सुन्दासको हाउभाउ बोलीचाली र उत्साह हेर्दा लक्का जवान झै लाग्छ । सुन्दासको पुख्र्यौली घर धनकुटाको तांखुवा हो । तर उनी धरान-१२ चतरा लाईनमा बस्दै आएका छन् । उनलाई श्रीमति ललिता सुन्दासले काममा सहयोग गर्छिन । उनका ३ छोरी ३ छोरा छन् । छोराछोरीहरु सुन्दासलाई अब यो पेशा नगर्न भन्छन् । तर, उनी आफ्नो शरीर र आँखाले साथ दिएसम्म गरिखान यो पेशा नछोड्ने बताउँछन् ।

बाटोमा हिड्ने क्रममा धेरैले उनलाई हरेर उनलाई प्रसंसा गर्छन् । कसैले त यी बुढा कति तगडा भनेर प्रश्न पनि गर्छन् । ९६ बर्षमा पनि सियोमा धागो चश्मा बिना नै उनी छिराउन सक्छन् । उनको काम र जागर देखेर बाटो हिड्दै गरेकाहरुले उनीसँग भलाकुसारी पनि गर्छन् । के – के सिलाउँनुहुन्छ ? यहाँ बसेर कपडा सिलाएको भाडाँ लाग्छ की लाग्दैन ? छोराछोरीले पाल्दैनन् ? यस्तै यस्तै प्रश्नको उनले सामना गर्नुपर्छ ।

सुन्दासको खानपान पनि गजबको छ । उनी अमिलो,गुलियो,पिरो,तातो,चिसो लगायत चिल्ला पुरी र जेरी सबै खान्छन् । खानेकुरा केही पनि बारेका छैनन् । सुन्दास अहिलेसम्म प्रेसरको मात्र औषधी लिन्छन् । उनी घरमै बनाएको साधारण दाल, भात, रोटी मनपराउछन् । दाँत अझै छ, त्यसैले चिउरा पनि खान्छन् । धुमपान ,मद्यपान लगायतका कुलत उनको छैन । चिन्ता वा तनाव नलिने ,निराश पनि नहुने ,समरात्मक जीवन मनपराउँछन् । 'यहि पेशामा सन्तुष्टि लिन्छुँ,'उनले भने ।

meher1

बिगत ६० बर्षदेखी लुगा सिउने पेशा अगाल्दै आएका सुन्दासले अहिले पनि दौरा, सुरुवाल, टोपी, नेपाली लुगा, तन्दा, पर्दा सिउदै आएका छन् । यसैको कमाईले परिवारको गुजारा भइरहेको छ । 'छोराछोरीहरु बाबा किन काम गर्नुहुन्छ, हामी पाल्छौ भन्छन्' सुन्दासले भने,'बर्षाैदेखि गरेको पेशा छोड्न मनै भएन ।'

उनको यही कमाईले पानी बत्तीको बिल, घर भाडा, घरखर्च पुर्याउछन् । काम नगरि बस्नु जिउँदो लाशसरह हुने उनको भनाई छ । आफ्नो उमेरका साथीभाईहरु कोही बितिसके, कोही लठ्ठीको सहारामा हिड्छन् भने कोही थला परिसके । तर उनलाई आजसम्म कसैको साहारा आवश्यक परेको छैन । निको नहुने ठुलो रोग पनि लागेको छैन । उनी कपडा सिलाउन बसेको सडक पेटीका घरधनी शुभम स्वीट हाउसका संचालक सुरज दुगडले ६० बर्ष भयो भाडा नलिएको । त्यसैले उनी खुलेर दूगडको प्रशंसा गर्छन् । सुन्दास हिँडेरै आफुुुलाई आवश्यक सामान किन्न जान्छन् । घरमा आपm्नो कपडा आँफै धुन्छन् । उनको सक्रिय दैनिकीले पनि उनलाई अहिलेसम्म स्वस्थ्य राखेको हो । अझै यो पेशालाई १२, १५ बर्ष निरन्तरता दिने उनको विश्वास छ ।

कतिपयले आफ्नो मेहनतको कदर नगरी यति सिलाएको पनि यत्रो पैसा लाग्छ ? भनेर अवमुल्यन गरेकोप्रति भने उनको गुनासो छ । तर कोही भने बुढो मान्छे भनेर अझ रकम थपेर समेत दिने गरेकोले उनी सन्तुष्ट छन् । उनी राती १० बजे सुतिसक्छन्, र बिहान ५ बजे अघि नै उठ्छन् । 'जे गरेर भए पनि शरीर सक्रिय बनाईराख्छु,'उनी भन्दछन्,'मानसिक र शारीरिक रुपमा सक्रिय रहनुहोस् , दीर्घजीवी भईन्छ ।'