सुनसरी: जित्ने पर्ने खेलमा प्रदेश नम्बर–१ लाई पराजित गर्दै प्रदेश प्रदेश नम्बर–३ मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

सुनसरीको इनरुवामा जारी प्रतियोगिता अन्तर्गत समुह ’सी’ को विजेताको रुपमा प्रदेश नम्बर–३ सेमीफाइनल प्रवेश गरेको छ । प्रदेश–३ र प्रदेश–५ बीचको शुक्रबारको खेल नतिजाविहिन रहेको थियो। प्रदेश–१ ले भने पहिलो खेलमा प्रदेश–५ लाई पराजित गरेको थियो ।वर्षाको कारण आउटफिल्ड भिजेकाले २८ ओभरमा छोट्याइएको खेलमा प्रदेश १ ले पहिले ब्याटिंग गर्दै दिएको १४५ रनको लक्ष्य प्रदेश–३ ले २६ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

प्रदेश–३ को जितमा कप्तान समेत रहेका ओपनिंग ब्याट्सम्यान सुबास खकुरेलले अविजित ८५ रनको उत्कृस्ट इनिंग खेले। खकुरेलले ७३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। रित गौतम र जितेन्द्र सिंह ठकुरीले समान १७ रन तथा आदील खानले ११ रन बनाए । प्रदेश १ का बलर शुभान्कर उरावले २ विकेट तथा दिपेश कंडेलले १ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश–१ ले २८ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो । प्रदेश–१ को ब्याटिंगमा कप्तान पुष्प थापाले सर्वा्धिक ५० रन बनाए । प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने क्रममा थापाले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै मिनास थापाले २०, फिर्दोश अन्सारीले १८ तथा राज थापाले १० रन बनाए ।

प्रदेश–३ को बलिंगमा तिब्र गति बलर नन्दन यादबले ४ विकेट लिए जुन क्रममा ६ ओभरमा २२ रन खर्चिए । यस्तै रामनरेश गिरिले २ विकेट तथा प्रतिस जिसी, इशान पाण्डे र जितेन्द्र सिंह ठकुरीले समान १ र १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुबास खकुरेल चुनिए ।