धरान : २० औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली फुटबल रनिङ कप शनिबारदेखि धरानमा शुरु भएको छ ।

धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा वडा नं ५ लाई पराजित गर्दै वडा नं ३ ले विजयी शुरुवात गरेको छ । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुंगिए पछि भएको टाइब्रेकरमा वडा नं ३ ले वडा ५ लाई ३–० गोलअन्तरले हरायो । निर्धारित समयको खेलमा दोस्रो हाफको ७ औं मिनेटमा वडा नं ५ ले लिएको थियो । खेलाडी दिलमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको १४ औं मिनेटमा वडा नं ३ का विसन श्रेष्ठले बराबरी गोल गरे ।

टाइब्रेकरमा वडा नं ३ का खेलाडी विसन श्रेष्ठ, सञ्जित लिम्बु र अमित लिम्बुले गोल गर्दै टिमलाई जित दिलाए । वडा नं ५ का मिजेश लिम्बू, विरध्वज लिम्बु र गोलकिपर विपुल मगर भने गोल गर्न असफल भए । प्रतियोगितामा आइतबार वडा नं १० र वडा नं १२ बीच खेल हुने आयोजक गोधुली क्लबले जानकारी दिएको छ ।

godhuli3

आगामी माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन शनिबार एक समारोहबीच प्रमुख अतिथि एवं वडा नं १७ का अध्यक्ष मनोज भटराईले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा धरानको २० वटै वडाले सहभागिता जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण विजेता सागर जलहारी, नेफाका खेलाडी देशवीर जिमीलगायत १० जना प्याराग्लाइडिङ उडेका थिए । उनीहरुले आकाशमा नेपाल भ्रमण बर्ष २०२०, राष्ट्रिय झण्डा र गोधुली क्लबको झण्डा लिएर उडान गरेका थिए । साथै, उनीहरुले पुष्प वृष्टि पनि गरेका थिए ।

प्रतियोगिताको विजेताले रनिङ कपसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले ११ हजार पाउनेछ भने उदयीमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले भने ७ हजार ५ सय पाउनेछ । तस्बिरहरु: सञ्जय याक्खा

godhuli 1 DSC_0337