काठमाडौं : हावाहुरीका कारण अष्ट्रेलियामा फैलिरहेको आगलागी नियन्त्रणमा लिन अफ्ठेरो परेको अधिकारीहरुले बताएका छन् ।

दक्षिणपूर्वी अष्ट्रेलियाका विभिन्न जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रकहरुले गरेका प्रयासहरु बिफल भइरहेको समाचारमा जनाइएको छ । एक सय २८ किलोमिटर प्रतिघण्टाको बेगमा आएको हुरीका कारण आगो नियन्त्रण गर्न समस्या भएको अधिकारीहरुले जनाएका छन् ।

छिमेकी राज्य भिक्टोरीयामा आगोमा फसेकाहरुको उद्धारका लागि सेनाका हेलिकोप्टरहरु प्रयोग गरिएको बीबीसीले उल्लेख गरेको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागीका कारण २३ जनानको मृत्यु भएको छ भने एक हजार भन्दा बढी घरहरु जलेर नष्ट भएका छन् ।

त्यसैगरी लाखौं हेक्टर वन क्षेत्र आगोबाट नष्ट भएको छ । लगातारको आगलागीका कारण अष्ट्रेलियामा अत्याधिक गर्मी बढेको छ । बाक्लो धुवाँका कारण वातावरण प्रभावित हुनुका साथै तापक्रम वृद्धि हुने क्रम रोकिएको छैन । लामो समयदेखि आगलागी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री स्कट मारिसनको सर्वत्र आलोचना भएको छ ।