धरान: आज पुष २० अर्थात धरान स्थापना दिवस(धरान डे) । धरान उपमहानगरपालिकाले स्थापना दिवससँगै नेपाल भ्रमण बर्ष २०२०लाई सफल बनाउन आयोजित तीन दिने धरान महोत्सवको आज समापन हुदैछ ।

समापन समारोहमा प्रमुख अतिथिकोरुपमा सहभागी हुन आज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई धरान आउदैछन् । उनलाई स्वागत गर्न करिब साढे १२ बजे तिर धरानको सिमाना पानीपियासम्म आयोजकहरु जाने कार्यक्रम छ । महोत्सव तथा स्थापना दिवसको अवसरमा आज बिहान साइक्लिङ र हाइकिङ कार्यक्रम सम्पन्न भइसकेको छ । सेवक धरानको संयोजनमा उपमहानगरपालिकाबाट धरान १३ र २० को सिमानामा रहेको वीपी स्मृति पार्कसम्म हाइकिङ भएको थियो ।

cycling

वीपी स्मृति पार्क क्षेत्रमा धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले वृक्षरोपणसमेत गरेका थिए । धरान दिवसको अवसरमा मेयरले स्वामीको विरुवा र उपमेयरले सिरिषको विरुवा रोपेका छन् । सुनसरी साइक्लिङ संघको संयोजनमा युवाहरु साइकल यात्रामा पनि बिहानै निस्किएका थिए । उनीहरु नेपाल भ्रमण बर्ष तथा भिजिट धरान लेखिएको झण्डा बोकेर साइकल यात्रामा निस्किएका हुन् । उनीहरुले धरान नगरको परिक्रमा गर्ने कार्यक्रम छ ।

खेलाडीहरुलाई नगर परिक्रमा र सम्मान

आज धरान महोत्सवको समापन तथा स्थापना दिवसको अवसरमा १३ औं दक्षिण एसियाली(साग) खेलकुदमा पदक विजेता धरानका खेलाडीहरुलाई सम्मान गरिने भएको छ । समापन समारोहमा खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित पुरस्कृत गरिने भएको हो ।

त्यसअघि पदक विजेताहरुलाई नगर परिक्रमा गराएर सम्मान गरिने पनि उपमहानगरपालिकाले जनाएको छ । सागमा स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३५ हजार र काँस्य पदक विजेतालाई २५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ । धरानका खेलाडीहरुले ६ वटा स्वर्ण, १ वटा रजत र ३ वटा काँस्य पदक जितेका छन् ।

cycling3

यस्तै, आज धरान महोत्सव २०७६ समापनको अवसरमा साँझमा चर्चित गायक दिप श्रेष्ठको सांगीतिक प्रस्तुती हुने भएको छ । दिउँसो महोत्सवस्थल पब्लिक उच्चमाविको मैदानमा रस्सीतान प्रतियोगिता पनि हुनेछ । यस्तै, विभिन्न खेलहरुको प्रस्तुती पनि हुने बताइएको छ ।

rukh-ropai1 hiking4 rukh-ropai