सुन्दरहरैचा: नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले अबको समय युवाहरूको भएको बताएका छन् ।

बिपि अध्ययन प्रतिष्ठान मोरङले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलको उद्घाटन गर्दै उनले युवाहरूले अबको नेतृत्व सम्हाल्नुपर्ने बताए । सुन्दरहरैचा ७ गछिया खेलमैदानमा आयोजित कार्यक्रममा कोइरालाले खेलकुदमा जस्तै समाज र राजनीतिमा पनि युवाको नेतृत्व आवश्यक रहेको धारणा राखे ।

पहिला आफुपनि टेवलटेनिस र क्रीकेटको खेलाडी भएको स्मरण गर्दै उनले खेलले खेलाडीलाई मात्र नभएर समाजलाई पनि अनुशासित बनाउने बताए । युवाहरूले लडेर ल्याएको लोकतन्त्र अहिले खतरामा रहेको भन्दै अबको लोकतन्त्र र राष्ट्रियता जोगाउने जिम्मेवारी युवाको हातमा रहेको उनको भनाई छ ।

पुष ६ गतेदेखि सुरुभएको नकआउट फुटबलको फाइनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ७ लाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यो संगै वडा नम्बर ४ को बिजयी टिमले नगद ५१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने वडा नम्बर ७ ले २३ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।